शनिबार, वैशाख १५, २०८१

प्रहरी हेडक्वार्टर किन पुगे गृहसचिव न्याैपाने ?

मेरोन्यूज २०७७ चैत ११ गते १६:५६

काठमाडौँ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरे । सो क्रममा उनले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए ।

गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिएका थिए । उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बताए ।

निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नेपाल प्रहरी संगठनको सुद्धढीकरण र शुद्धीकरण गर्न गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको चर्चा गर्दै प्रहरीका कार्यालयहरुको गतिविधि अनुगमन तथा कारबाही प्रकृया बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना कार्यान्वयनको साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्य योजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्ने उनकाे भनाइ थियाे । गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकासलगायतका विषयमा गृह मन्त्रालयले छलफल अगाडि बढाएको चर्चा गरे । यसवर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट हुनेतर्फ लाग्न उनले जाेड दिए ।

सो क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास भइरहेको बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षक एवम् प्रहरी वरिष्ठ अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया