शुक्रबार, असार १, २०८१

आर्थिक अभावका कारण स्काउट शिक्षाबाट बञ्चित छन् विद्यार्थी

मेनुका कार्की २०८१ जेठ २० गते १४:२०

काठमाडौं। आजभोलि स्कुल तथा मठमन्दिरमा हरियो ड्रेसमा बालबालिकाहरु देखिन्छन् । हरियो ड्रेसमा सजिएका बालबालिकाहरु लाइन मिलाउने देखि हातमा झाडुबोकेर सरसफाइ गरेको देखिन्छ । झट्ट हेर्दा कतिपयले यी बालबालिका को हुन भन्ने थाहा नहुन सक्छ तर ती बालबालिका हुन् स्काउट विद्यार्थी । सबै विद्यार्थीमा यसो गरिएको पाइँदैन । स्काउट भन्नेबित्तिकै कतिपयले मन्दिरको भीडभाडमा लाइन मिलाउने भनेर मात्र बुझ्छन् तर स्काउट त्यतिमै मात्र सीमित छैन । कोही समस्यामा छन् र असहज स्थिति झेलिरहेका छन् भने उनीहरूलाई सहयोग गर्न तत्पर हुन स्काउटले प्रेरित गर्ने स्काउट विद्यार्थी प्रमिला कार्कीको अनुभव छ ।

Advertisement

बालबच्चालाई आत्मनिर्भर बनाउन आवश्यक छ । विद्यालय वा पाठ्यक्रमसँगै उनीहरूलाई दैनिक जीवनमा आइपर्ने समस्या हल गर्न र बाँच्नका लागि संघर्ष गर्न पनि सिकाउनुपर्छ । बालबालिकाहरू खेलौना मिलाउन, जुत्ता पोलिस गर्न,आफ्नो जुठो भाँडा उठाउनसमेत जाँगर गर्दैनन् । यी सबै कुरा आमाबुबाका लागि छाडिदिने गर्छन् । सानोतिनो समस्यासँग पनि जुध्न सक्दैनन् ।

बालबालिकालाई आत्मनिर्भर कसरी बनाउने ,समस्यासँग जुध्न कसरी सिकाउने ,व्यावहारिक सीप कसरी दिलाउने , चरित्रवान कसरी बनाउने यी र यस्तै प्रश्नहरूको समाधान खोज्नमा अधिकांश अभिभावक रुमलिरहेका हुन्छन् ।

अहिलेका बालबालिकाको शारीरिक गतिविधि कम हुन्छ । उनीहरू घरभित्रै टेलिभिजन, मोबाइलजस्ता डिभाइसमा घण्टौं अल्मलिरहेका हुन्छन् । फेसबुक, युट्युब, इन्स्ट्राग्राम, टिकटकमा टाँसिएर बस्छन् । त्यसो त बाहिर खेल्ने अनुकूलता नभएकाले पनि तिनीहरू यी विकल्पहरूमा रमाइरहेका हुन सक्छन् ।

अहिलेका बालबालिका एकल सन्तान तथा एकल परिवारमा हुर्कने भएकाले प्रायः घरभित्रै बस्न मन पराउँछन् । अभिभावकले पनि सुरक्षाको हिसाबले घरभित्रै राख्ने गरेका छन् ।

यसरी घरमै बस्नुको ‘साइड इफेक्ट’ भनेको बालबालिकाहरू प्रविधि सगँ समयअनुसार अपडेट भएका छन भने शारीरिक रूपमा कमजोर हुनु हो । व्यावहारिक ज्ञान र सीपबाट वञ्चित हुनु पनि हो ।

अहिले अधिकांश बालबालिकामा आपसमा घुलमिल हुने, मेलमिलाप गर्ने, प्रतिस्पर्धा गर्ने, समस्यासँग जुध्ने बानीको विकास हुन पाएको छैन ।

हरियो सर्ट र हरियो सारी वा फ्रक लगाएका युवा तथा बालिका स्काउट र खरानी रङको सर्ट र पेन्ट लगाएका बालक तथा युवा स्काउटलाई हामीले विभिन्न सामाजिक काममा निरन्तर लागिरहेको पाउने समूह नै हो नेपाल स्काउट । एउटै पहिरनमा सजिएर एकतामूलक रुपमा राष्ट्रमा आइपरेका विभिन्न विपद्को सामना गर्नसम्म नेपाल स्काउट तत्पर रहँदै आएको छ ।

नेपाल स्काउटको राष्ट्रिय प्रशिक्षक शुशिला कुमारी बिष्टले अब अभिभावकले आफ्ना बालबालिकालाई आफ्नो काम आफैं गर्न, हरेक चुनौती सामना गर्न सिकाउनुपर्ने बताउँछिन् ।

काठमाडौं शिक्षालय स्कुल लगायत पाँच वटा विद्यालयमा स्काउट शिक्षकसमेत रहेकी उनी भन्छिन्, ‘विद्यालयको सिकाइ मात्र पर्याप्त छैन । उनीहरूलाई व्यावहारिक जीवन तथा नैतिकताका कुरा पनि सिकाउनुपर्छ ।’ विद्यालयको पढाइसँगै हरेक बालबालिकालाई स्काउटमा प्रशिक्षित गर्नुपर्ने उनको धारणा छ । उनका अनुसार स्काउटले बालबालिकाको फरक क्षमता प्रस्फुटन गराउँछ । बिष्ट भन्छिन्, ‘स्काउटमा उनीहरूले सीमित स्रोत र साधनको प्रयोगबाट कसरी आफ्नो काम सम्पन्न गर्ने, कसरी बाँच्ने भन्ने जीवनोपयोगी कुरा सिक्छन् ।’

यसरी व्यावहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ । स्काउटमा विद्यालयको कोर्सभन्दा बाहिरको व्यावहारिक कुरामा जोड दिइन्छ ।’ उनले यसबाट उनीहरूलाई चरित्रवान्, सबल, सक्षम, आत्मनिर्भर, सक्रिय, गतिशील र अनुशासित बनाउन सहयोग पुग्ने पनि बताइन् ।

शुशिला कुमारी बिष्ट- नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक

नेपाल स्काउट राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतका अनुसार स्काउटले भावनात्मक रूपमा बलियो र शारीरिक रूपमा सक्रिय बनाउने भएकाले पनि अहिलेका बालबालिकाका लागि अपरिहार्य भएको उनको भनाइ छ ।

काठमाडौं जिल्लाका ग्लोबल स्कुल लगायत दश भन्दा बढी स्कुलमा स्काउट शिक्षक रहेका बस्नेतले स्काउटअन्तर्गत सबैसँग समान व्यवहार गर्ने, आपसमा मिल्ने बानीको विकास गराउने सुनाउछन । उनका अनुसार स्काउटमा खेलको माध्यमबाट ‘फाउन्डेसन अफ स्काउट’, ‘ड्युटी अफ गड’, ‘ड्युटी अफ अदर्स’, ‘ड्युटी अफ सेल्फ’ जस्ता कुराहरू सिकाइन्छ ।

‘ड्युटी अफ गड’ मा सबै धर्मप्रति समान आस्था राख्न प्रेरित गरी भेदभावको भावना हटाइन्छ । आध्यात्मिक मूल्य खोज्न प्रोत्साहित गरिन्छ । ‘स्काउट अफ अदर्स’ मा शान्ति, समझदारी तथा सहयोगको भावना विकास गरिन्छ । यो प्रयोगात्मक प्रतिज्ञा र नियम हो । यसअन्तर्गत बालबालिकामा भाइचारा, आपसी मेलमिलाप आदि गुण विकास गराइन्छ । यस्तै, सेवा र सहयोगको भाव पनि उनीहरूमा विकास गराइन्छ । हरेक दिन एउटा न एउटा राम्रो काम गर्नुपर्छ भन्ने कुरा बुझाइन्छ ।

नेपालमा प्रजातन्त्रको आगमन लगत्तै वि.सं २००९ साल असार ५ गते राजा त्रिभुवन वीरविक्रम शाहदेवले नेपाल स्काउटको विधिवत रुपमा उद्घाटन गरेका हुन् । वि.सं.२००९ सालमा नेपाल स्काउटको स्थापना भए पनि यसले विश्व स्काउटको विधिवत पूर्ण सदस्यता भने विसं २०२६ सालमा मात्र प्राप्त गरेको हो ।

विसं २०३२ सालमा नेपाल स्काउटले युवा कार्यक्रम नीति तय गर्यो र उक्त नीतिकै माध्यमबाट स्काउटिङ गतिविधिलाई निरन्तरता दिइएको पाइन्छ । उक्त नीतिमा ६ वर्षदेखि २५ वर्षसम्मका युवालाई स्काउटिङ शिक्षाका विभिन्न तहमा वर्गीकरण गरेर स्काउटिङ गतिविधिमा समावेश गर्न सकिने उल्लेख गरिएको छ ।

नेपालका बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुपको अभियानमा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरुलाई अनुशासित स्वाबलम्बी र चरित्रवान् बनाइ सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई बढी सक्षम र संगठित बनाउने उद्देश्यले नेपाल स्काउट ऐन २०५० कार्यान्वयनमा रहेको छ ।

नेपालको राजनीति र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका युवा जगतले सन् २०१५ को भूकम्पपछि उद्धार, राहत र अस्थायी पुनस्थापनामा देखाएको स्वयंसेवकीय भूमिका अतुलनीय रहेको छ ।

विश्व स्काउटको सिद्धान्तमा आधारित रहेर युवा विद्यार्थीलाई विभिन्न स्काउटिङ एक्टिभिटिका माध्यमबाट जिम्मेवार नागरिक तयार गर्नु नै नेपाल स्काउटको मुख्य उद्देश्य हो ।

विद्यालयमा स्काउट शिक्षा लागु भएता पनि आर्थिक अभावका कारण कयौं विद्यार्थी स्काउट शिक्षाबाट बन्चित छन् ।
स्काउट मास्टर समिर गुरुङ बताउँछन्, ‘विद्यालयले स्काउट शिक्षामा बालबालिकालाई नि:शुल्क ड्रेस उपलब्ध गराइ अनिवार्य आबद्ध गराउँदा सबै बालबालिका समेटिने छन् ।’ विद्यालयमा गराइने अत्तिरिक्त कृयालापमा आर्थिक समस्याका कारण आबद्ध गराउन नसकेको अविभावकको गुनासो रहेको सुनाउँछन् ।

समिर गुरुङ- स्काउट मास्टर

सन् २०३२ सम्ममा ७ लाख युवा सदस्य निर्माण गरी उनीहरुलाई स्काउटिङ एक्टिभिटिका माध्यमबाट आत्मनिर्भर, प्रतिस्पर्धी बनाई राज्यका नेतृत्वदायी भूमिकामा सक्रिय गराउने परिकल्पना नेपाल स्काउटले गरेको छ ।

औपचारिक शिक्षा दिँदै गर्दा ६ वर्षको कलिलो उमेरदेखि नै नेतृत्वदायी भूमिकामा ल्याउने स्काउटिङ शिक्षामा समावेश गराउँदै उत्तरदायी र जवाफदेही नागरिकको उत्पादन नै आजको आवश्यकता हुन जान्छ । यसका लागि नेपाल सरकार, नेपाल स्काउट र सम्बन्धित सरोकारवालाले सहकार्य गरेर नेपाल स्काउटका कार्यक्रमलाई सशक्त ढंगले विद्यार्थी र युवाका बीचमा लग्नुपर्ने देखिन्छ ।

संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरि स्काउटलाई अगाडि बडाएको छ । यसै अनुरुप उपत्यकामा भने अनिवार्य स्काउट शिक्षा लागु गरी सबै नगर तथा पालिकामा रहेका विद्यालयमा स्काउट संचालन गरिरहेको छ ।

प्रतिक्रिया