आइतबार, असार ३, २०८१

रेडियो सगरमाथाको स्थापना दिवस सम्पन्न

मेरोन्यूज २०८१ जेठ १० गते १४:५४

Advertisement

काठमाडौं । दक्षिण एसियाकै पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथाले बुधबार २८ औँ स्थापना दिवस मनाएको छ ।

काठमाडौँ उपत्यकाबाट १०२ दशमलव ४ मेगाहर्जबाट प्रसारण हुने रेडियो सगरमाथा एफ.एम. २०५२ सालबाट परीक्षण प्रसारण सुरु गरेको भए पनि २०५४ साल जेठ ९ गते देखि विधिवत् रूपमा प्रसारण सुरु गरेको हो ।

नेपाल वातावरण पत्रकार समूहको स्वामित्वमा प्रसारण भइरहेको यस रेडियोले सबै वर्ग तथा समुदायका नागरिकहरूलाई सु -सूचित गराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

काठमाडौँ स्थित ठमेलको कालधाराबाट प्रसारण सुरु गरेको यस रेडियो सगरमाथाले ललितपुरको पाटन ढोका र बखुण्डोल हुँदै हाल ललितपुरकै भनीमण्डलमा आफ्नै भवनबाट सेवा दिइरहेको छ ।

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो सगरमाथाको २८ औ स्थापना दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिखित शुभकामना सन्देश दिएका थिए । उक्त शुभकामना सन्देशमा वर्तमान सरकार रेडियो सगरमाथा जस्ता स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्धता रहेको उल्लेख गरिएको छ ।

कार्यक्रम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सामुदायिक रेडियोहरूका लागि मैत्री कानुनहरू निर्माण गर्न, यस्ता रेडियोहरूले भोग्न परेका चुनौतीहरूको सामना गर्नका लागि सम्बन्धित निकायहरू र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग छलफल गरी आवश्यक ऐन कानुनहरू निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

रेडियो सगरमाथा सञ्चालक समितिका अध्यक्ष एवं पूर्व स्टेसन म्यानेजर घमराज लुइँटेलले रेडियो सगरमाथाले रेडियोको अभिव्यक्ति, स्वतन्त्रताका लागि आवाज उठाउँदै आएको भन्दै तिनै तहका सरकारले सामुदायिक रेडियोहरूको संरक्षण गर्न जरुरी रहेको बताए।

साथै उनले सामुदायिक रेडियोहरूको संरक्षण, दिगोपनका लागि राज्यले आवश्यक बजेट विनियोजन गर्नु पर्ने भन्दै अब छिटै नै रेडियो सगरमाथाको आफ्नै युट्युब च्यानल पनि सञ्चालन गरेर सामाजिक मिडियामा सशक्त ढङ्गले अगाडी बढ्ने कुरामा जोड दिएका छन् ।

सो कार्यक्रममा नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारी पाठकले रेडियो सगरमाथाको इतिहास स्मरण गर्दै यो रेडियोलाई अगाडि बढाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै शुभकामना व्यक्त गरिन् ।

प्रतिक्रिया