शुक्रबार, असार १, २०८१

भेटिभर खेतीको प्रवर्द्धन : दिगो विकासको संवर्द्धन

श्याम गोयन्का २०८१ जेठ ९ गते १९:४९

काठमाडौँ । नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ । बाढी, पहिरो, डढेलो, भूक्षयलगायत प्राकृतिक प्रकोप र त्यसबाट हुने मानवीय तथा प्राकृतिक क्षति प्रत्येक वर्ष नेपाल तथा नेपालीले झेल्दै र भोग्दै आएका समस्या हुन् ।

Advertisement

देशमा उपलब्ध स्रोतसाधनको उपयोगको अभाव तथा अत्यधिक आयात तथा निर्वाहमुखी अर्थतन्त्रले गर्दा नेपालमा समुचित विकास हुन सकेको छैन । साथै, आधुनिक ज्ञान र प्रविधिका अभावमा सामान्य विकास निर्माणका लागि पनि ठूलो खर्च र समस्या झेल्दै आउनुपरेको छ । आधुनिक प्रविधि मात्र होइन, सामान्य पर्यावरणीय ज्ञानका अभावमा पनि राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको छ ।

छिमेकी राष्ट्र भारत तथा चीनले अग्रगामी विकासमा छलाङ मार्दै गर्दा नेपालले भने भएका स्रोतसाधनको पनि उपयोग गर्न सकेको छैन । यस्ता समस्याको जैविक समाधानतर्फको पहिलो तथा प्रभावकारी कदमका रूपमा भेटिभर परियोजना विश्वमा परीक्षण भई बहुपयोगी साबित भएको जैविक प्रविधि हो ।

के हो त भेटिभर ?

भेटिभर क्रिसोपोगान प्रजातिको एक बहुपयोगी वनस्पति हो, जसलाई नेपाली भाषामा खसखसे भनिन्छ । वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स रहेको यसले किसानको साथीका रूपमा नाम कमाएको छ र विश्वका धेरै देशमा कृषि सबलीकरण तथा गरिबी निवारणका क्षेत्रमा वरदान साबित भएको छ ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटरका उचाइसम्म खेती गर्न सकिने यस वनस्पतिको मुख्य विशेषता जरामा छ जुन निकै बाक्लो गाँज भई जमिनमा तीन मिटरभन्दा बढी गहिरोसम्म जान्छ । यो विषम किसिमका माटामा हुर्कने तथा सप्रने घेरै कम बिरुवामध्येको एक हो ।

पिएच भ्यालु अर्थात् अम्लीय तत्त्व तीनदेखि ११ रहेको माटामा पनि यस बिरुवाले सजिलैसँग हुर्केर अम्लीय तत्वलाई सन्तुलित पार्ने काम गर्छ । अति नै बहुउपयोगी बालीका रूपमा विश्वमा परीक्षणबाट प्रमाणित यसको खेतीबाट छदेखि आठ महिनाभित्रै धेरै आर्थिक लाभ लिन सकिन्छ । यसको जराबाट उत्पादन हुने तेलको दुई सय ७५ डलर प्रतिलिटरको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको छ ।

यस्तो उच्च मूल्य हुँदासमेत अन्तर्राष्ट्रिय बजारमा यस तेलको धेरै माग छ । देशभर नदी तथा बाढीपहिराबाट क्षतिग्रस्त करिब १० लाख हेक्टर बगर जमिनलाई भेटिभरखेतीको विस्तारमार्फत हामी पूर्णरूपमा उपयोगमा ल्याउन सक्छौँ । उक्त जमिनका उपयोगले हाम्रो खाद्य व्यापार घाटा निर्मूल पार्न सक्ने तथ्यमा कुनै विवाद छैन ।

भेटिभरको विशिष्ट गुण उपयोगिता तथा क्षमतालाई मध्यनजर गर्दै विश्व बैंकका पहलमा अमेरिकाको भर्जिनिया राज्यमा सन् १९८९ मा द भेटिभरनेटवर्क नामक गैरनाफामूलक संस्था स्थापना भएको छ । यस संस्थाले पछिल्लो समय भूमि स्थिरीकरण, प्रदूषित स्रोतहरूको फाइटा–उपचार, बायो–इन्जिनियरिङ, पूर्वाधार संरक्षण र स्थिरीकरण तथा प्रकोपको जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दैआएको छ ।

यस वनस्पतिमा बन्जर, सुख्खा तथा रासायनिक रूपमा क्षतिग्रस्त भूमि पुनःस्थापना गर्ने क्षमता छ । नेपालका सन्दर्भमा चुरे संरक्षण, नदी कटान तथा तटको संरक्षण, पहिरो र भूक्षय रोकथामलगायत कार्यमा यसको प्रभावकारी उपयोग गर्न सकिन्छ ।

हाइटीको अर्थतन्त्रको करिब ७४ प्रतिशत हिस्सा यसको खेतीमार्फत उत्पादन हुने भेटिभर तेलले ओगटेको छ । यसलाई औषधि तथा सुगन्धित तेलका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यस वनस्पतिले कार्बन सङ्कलन गरी वातावरण प्रदूषित हुनबाट पनि रोक्छ एवं दिगो कृषि तथा बायो–इन्जिनियरिङको साधनका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

विप्रेषणमा आधारित अर्थतन्त्रलाई कृषितर्फ ल्याउन तथा देशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा भेटिभरउपयोगी र प्रभावकारी मार्ग हो । सधैँ परिवर्तन र क्रान्तिको कुरा हुने देश नेपालमा कृषि क्रान्तिको आधार भेटिभरहुन सक्छ । न त बाँदरले दुःख दिने, न रोग प्रकोप–किरा लाग्ने, न नदीले बगाउने, न डढेलाले मास्ने, न त मलखाद र सिंचाइको आवश्यता पर्ने । रोपेपछि एकै पटक प्रयोग तथा बिक्रीका लागि तयार हुने, नेपालको भूगोल, अवस्था र व्यवस्थानुकूलको उपयुक्त खेती भेटिभर हो ।

भेटिभरका फाइदा

गरिबी उन्मूलनः गरिबी निवारणको प्रभावकारी समाधान भनेको रोजगारीको अवसरको सिर्जना हो । भेटिभरमार्फत प्रशस्त रोजगारीको सिर्जना गर्दै किसानका आयआर्जनमा वृद्धि गरी नेपालको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको गरिबी उन्मूलनका मार्गमा अगाडि बढ्न सकिन्छ ।

यसका जराबाट २७५ अमेरिकी डलर प्रतिलिटर अर्थात लगभग ३६ हजारमा बिक्री हुने बहुमूल्य भेटिभर तेल उत्पादन हुन्छ । यसको १० टन तेलको एक ट्रक वा कन्टेनर तेल निर्यातमा २७।५ लाख अमेरिकी डलर नेपाल सरकारलाई राजश्व प्राप्त हुन्छ । हालको बजार मूल्यसँग तुलना गर्दा नौ महिनामा किसानले अन्य कृषि कार्यभन्दा भेटिभरबाट बढी आम्दानी गर्न सक्छन् ।

गरिबी उन्मूलनको मुख्य पाटो खाद्य सुरक्षा हो । नेपालमा विभिन्न कारणले १० लाख हेक्टर जग्गा बगर तथा बाँझो रूपमा छ । ती जमिनमा भेटिभर खेती मात्र गर्न सकिएमा उक्त जमिन पुनः अन्य बालीका लागि उपयोग गर्न योग्य बनाउन सकिन्छ ।

साथै भेटिभरसँगै दलहनलगायत अन्य बाली पनि साथसाथै लगाउन सकिन्छ जसबाट नेपालको उत्पादनबाट नपुगेर आयात गरिँदै आएको लगभग ४० लाख टन खाद्य अभावका अवस्थाबाट बाहिर निक्लँदै निर्यात गर्न नेपाल सक्षम हुन सक्छ ।

भेटिभरले कार्बन उत्सर्जनमा विभिन्न किसिमले कमी ल्याउने हुँदा कार्बन नेगेटिभ भई दक्षिण एसियामा भुटानपछिको दोस्रो कार्बन नेगेटिभ मुलुक हुन सक्ने मार्ग प्रस्तुत हुनेमा कुनै समस्या देखिँदैन । खेर गइरहेको १० लाख हेक्टर जग्गामा भेटिभर रोप्दा खाद्य सुरक्षा, रोजगारीको सिर्जना, ऊर्जाको उत्पादन, वातावरणको सुरक्षा र जैविक सुरक्षालगायत समग्र सामाजिक स्थिरताका पाँच वटै अवयव पूरा हुनु आफैँमा भेटिभर बिरुवाको विशेषताको सूचक हो जसको उत्पादन लागत एकदमै न्यून छ ।

कृषिमा फाइदाः भेटिभरले नदी तथा कुलाबाट खेतबारीमा हुने कटान जोगाउँछ । यो एक यस्तो प्रकारको सहयोगी झार हो, जसका सहयोगमा बाढीको बालुवा र ढुङ्गाले पुरेर बगर बनेका खेतीयोग्य जग्गालाई पुनः पोषणयुक्त र उर्वर भूमिमा परिणत गर्न सकिन्छ ।

भेटिभर खेतीबाट खेतीबालीमा किरा नियन्त्रण र माटाको उर्वरतामा वृद्धि गर्न सकिन्छ । नेपालमा प्रतिव्यक्ति सिञ्चित जग्गाको स्वामित्व ०।०७ हेक्टर मात्रै छ अर्थात् ७० देखि ८० प्रतिशत साना किसानका स्वामित्वमा प्रतिपरिवार करिब १० कठ्ठाभन्दा कम जमिन मात्र छ । यो सानो क्षेत्रफलले व्यावसायिक र आधुनिक प्रणालीबाट कृषि कर्म गर्न सम्भव छैन, जसको कारण नेपालको कृषि निर्वाहमुखीतर्फ मात्रै सीमित छ ।

जैविक भूसंरक्षणः नेपालको भौगोलिक बनावटका कारण मनसुनसँगै पहिरो जाने र पहिरोसँगै कृषि अनुकूल मलिलो माटो बगेर जाँदा अत्यधिक भूक्षयको अवस्था छ । यसलाई नियन्त्रण गर्ने एक मात्र जैविक विकल्प भेटिभर हो । यस वनस्पतिको जरा तीनदेखि पाँच मिटरसम्म जमिनमुनि बढ्ने हुँदा माटालाई बाँधेर राखी भूक्षय हुन दिँदैन । बाँझो, बन्जर, विभिन्न औद्योगिक तथा रासायनिक फोहोर व्यवस्थापनका कारणले प्रदूषित भूमि पुनःस्थापनाको प्रभावकारी जैविक विकल्प भेटिभर हो ।

जैविक तटबन्धः भेटिभरले जैविक तटबन्धका रूपमा प्रभावकारी कार्य गर्छ । छिटो बढ्ने र लामो जरा सञ्जाल हुने हुँदा यसले बिरुवा रोपेको छोटो समयमा नै प्रभावकारी काम गर्छ । विश्वमा समेत यसको खेतीले पानीको स्रोत बढ्ने एवं हरियाली व्यवस्थापन तथा कम लागतमा मजबुत तटबन्धको कार्य गरेको छ । भेटिभरको तटबन्धले बाढीपहिराका कारण बगरमा परिणत हुँदै गएका खेतीयोग्य जमिनलाई संरक्षण गरी पुनः कृषि भूमिका रूपमा पुनःस्थापना गर्छ ।

भिरालोपनको स्थिरीकरणः भेटिभर रोपेर कुनै पनि भिरालो जमिनलाई बाढीपहिरो तथा भूक्षयबाट जोगाइराख्न सकिन्छ । यसबाट ग्रामीण तथा कृषि सडकमा हुने पहिरो न्यूनीकरण गर्न सकिन्छ । राजमार्ग, रेलमार्ग, पुल, बाँध तथा पोखरी, विभिन्न निर्माणस्थल, नहर, नाली आदिलाई भेटिभरको प्रयोगमार्फत भूक्षयबाट बचाइराख्न सकिन्छ । हाल विकास निर्माणमा प्रयोग हुने टेवा पर्खाल बनाउन प्रतिघनमिटर १०–१२ हजारको लागत लाग्छ । यसका विकल्पमा भेटिभर प्रयोग गर्ने हो भने रु पाँच सय वा एक हजार प्रतिघमिका लागतमा टेवा पर्खालभन्दा बलियो र टिकाउ कार्य गर्न सकिन्छ ।

फाइटोरिमेडियसनः खेर गएको तथा क्षतिग्रस्त जमिनमा भेटिभर रोपेर फाइटोरिमेडिएसन प्रक्रियाबाट प्रदूषित जमिन तथा पानीको उपचार गरी शुद्धीकरण गर्न सकिन्छ । यसबाट औद्योगिक फोहोर, घरेलु फोहोर, ल्यान्डफिल साइटको शुद्धीकरणका साथै पानीको स्थिरीकरण पनि गर्न सकिन्छ ।

काठमाडौँमा फोहर व्यवस्थापन सधैँ एक समस्याका रूपमा रहेको छ । ल्यान्डफिल साइटमा हुने प्रदूषण, त्यहाँबाट उत्पन्न हुने लिचडले स्थानीय जलस्रोतमा निकै असर गरेको छ । लिचडको जैविक उपचार भेटिभरबाटै सम्भव छ । यस वनस्पतिले हाम्रा वरपर विभिन्न औद्योगिक, रासायनिक, मानवीय क्रियाकलापका कारणले उत्पन्न हुने प्रकोपको न्यूनीकरणका क्षेत्रमा विशेष कार्य गर्छ ।

बाढीपहिरो रोकथामः हुर्किएको छ महिनामा नै यसको जरा फैलिएर पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एकापसमा जोडेर र समातेर राख्ने गर्छ । नेपालमा बाढीपहिराको जोखिम उच्च भएकाले यस घाँसको प्रयोगको ठूलो आवश्यकता छ । बाटामा पहिरो गएर हुने भूक्षय रोक्न यसले जैविक पर्खालको काम गर्छ, जुन हामीले प्रयोग गर्ने कंक्रिट पर्खालभन्दा निकै किफायती, बलियो र सस्तो छ ।

नदी किनार संरक्षणः नदी तटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान र ज्वारभाटाबाट पनि भेटिभरको बिरुवाले जोगाउनका साथै पानीको उच्च बहावलाई पूर्णरूपमा सुस्त बनाइदिन्छ । अफ्रिका, अमेरिका, एसिया महादेश, क्यारेबियन, प्रशान्त तटका विभिन्न मुलुकमा पछिल्लो १० वर्षमा गरिएको अनुसन्धानले बाढीको गति घटाउन र भूक्षय रोक्न भेटिभरको प्रयोग निकै प्रभावकारी भएको देखाएको छ । मनसुनका समयमा अत्यधिक हुने नदी कटान नियन्त्रणको यो एक प्रभावकारी साधन बन्न सक्छ । यसबाहेक नदीको धार परिवर्तनको रोकथाममा पनि यसले जैविक इन्जिनियरिङको काम गर्छ ।

बन्जर भूमि पुनःस्थापनाः खोला बगर, नदी उकास, फोहोर व्यवस्थापन क्षेत्रलगायत प्रयोगविहीन जग्गामा भेटिभरको रोपण अपरिहार्य छ । यसको खेती गरेपछि उक्त जग्गा पुनः अन्य खेतीका लागि उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्सेनि बाढीका कारणले हुने नदी कटान, पहिरो, भूस्खलन र बगरमा परिणत भएका छन् ।

यस्ता जग्गालाई भेटिभरका सहयोगमा पुनः कृषि भूमिमा रूपान्तरण गर्न सकिन्छ । प्रयोगविहीन बाँझो, पर्ती, दर्ता छुट, ऐलानी, खोला उकास तथा बाढीपहिराका कारण बगरमा परिणत भएका जग्गालाई वैज्ञानिक कृषि प्रणालीका सहयोगमा पुनः उर्वर कृषियोग्य भूमिमा परिणत गर्न सकिन्छ ।

जलाधार संरक्षणः यसको जराले जमिनमुनिको पानीलाई सतहतर्फ ल्याएर ओसिलो बनाउने हुँदा मुहान सुक्न दिँदैन । जमिनमा रहेका दूषित तत्त्व सोस्ने हुँदा पानी शुद्घीकरण गरी मुहान संरक्षण गर्न पनि मद्दत गर्छ । वाग्मती, विष्णुमतीजस्ता नदी शुद्धीकरणका सन्दर्भमा भेटिभर प्रभावकारी जैविक अस्त्रका रूपमा अग्रणी रहन सक्छ ।

हरित इन्धनको स्रोतः भेटिभर हरित इन्धनको एक महत्त्वपूर्ण स्रोत हो । हाल नेपालले वार्षिक झन्डै रु तीन खर्बको जीवाश्म इन्धन आयात गरिरहेको छ । भेटिभरलाई हरित इन्धन उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । यसबाट बायोमास, बायोग्यास र बायो सिएमजी उत्पादन गर्न सकिन्छ ।

बायो सिएमजीका प्रयोगबाट सवारी साधनमा प्रयोग हुने जीवाश्म इन्धनको विस्थापनका साथै विद्युत् उत्पादन पनि गर्न सकिने हुँदा जीवाश्म इन्धनको आयात घटाउँदै इन्धन खरिदमा खर्च हुने विदेशी मुद्रा बचत भई व्यापार घाटासमेत कम गर्न सकिन्छ ।

साथै जीवाश्म इन्धनले कोइलाभन्दा आधा कार्बन उत्सर्जन गर्ने हुँदा नेपाल कार्बन नेगेटिभ भई कार्बन व्यापारबाट समेत किसानले अर्थोपार्जन गर्न सक्छन् । यी यावत् इन्धन उत्पादन गरिसकेपछि निस्कने बाइप्रोडक्ट जैविक मलका रूपमा हामीले प्रयोग तथा निर्यातसमेत गर्न सकिन्छ ।

राज्यले वार्षिक रूपमा अबौँ रुपैयाँ रासायनिक मलखाद खरिदमा अनुदानका नाममा खर्च गरिरहेको अवस्थामा यसतर्फ ध्यान दिने हो भने कृषिका धेरै समस्या एकमुष्ट समाधान हुन सक्दछ । ग्रामीण क्षेत्रमा दाउरा मुख्य ऊर्जाका रूपमा प्रयोग भइरहेका अवस्थामा भेटिभरबाट उत्पादन हुने ब्रिकेटले रुख कटान नियन्त्रण गर्न भूमिका खेल्छ ।

दिगो विकासका लक्ष्य पूरा गर्ने आधारः भेटिभरको समुचित प्रयोगमार्फत दिगो विकासको अवधारणान्तर्गतका १७ लक्ष्य पूरा गर्नेतर्फ अग्रसर हुन सक्छ । गरिबी निर्मूलीकरण, भोकमरी उन्मूलन, राम्रो स्वास्थ्य र जनकल्याण, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जा, सभ्य काम र आर्थिक वृद्धि, उद्योग, नवप्रवत्र्तन र पूर्वाधार, समानता, दिगो सहर र समुदाय, जिम्मेवार उपभोग र उत्पादन, जलवायु कार्य, पानीमुनिको जीवन, भूमिमा जीवन, शान्ति, न्याय र बलियो संस्था तथा लक्ष्यहरूका लागि साझेदारी सन्दर्भमा भेटिभरले कार्य गर्न सक्छ । यसको विकास र विस्तारबाटै दिगो विकासका लक्ष्य पूरा गर्न सकिन्छ ।

पछिल्लो क्षति

राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षणको पछिल्लो तथ्याङ्कअनुसार जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो पाँच वर्षमा चार खर्बभन्दा बढी नोक्सानी बेहोरेको छ । तथ्याङ्कानुसार वार्षिक ८३ अर्ब बराबरको क्षति हुने गरेको छ । जलवायुजन्य विपद्ले भौतिक पूर्वाधार, खाद्य सुरक्षा, रोग तथा कीटाणुलगायत विभिन्न माध्यमबाट क्षति पु¥याएको पाइएको छ । तसर्थ राज्य विकास निर्माणलगायत क्षेत्रमा बायो–इन्जिनियरिङतर्फ अगाडि बढ्न आवश्यक देखिन्छ । समयमै भेटिभरसहितका जैविक समाधानको उपाय अपनाएमा यस्ता क्षतिमा महसुस हुने गरी न्यूनीकरण गर्न सकिन्छ ।

हालका दिनमा नेपालको कृषि क्षेत्रमा धेरै समस्या भई किसानहरू प्रताडित हुनुपरेका अवस्थामा यसको खेती गरेमा बाँदरलगायत पशुपक्षीबाट हुने क्षति, रोगकिराबाट हुने क्षति आदिबाट बचाउन सकिन्छ । खडेरी तथा डढेलोबाट हुनसक्ने क्षतिबाट पनि बच्न सकिन्छ । बायो–इन्जिनियरिङमा हाल प्रयोग भइरहेका बिरुवाको जराको क्षमता, सहन गर्न सक्ने तापक्रम, डढेलो आदिबाट पार्न सक्ने असर आदिको अध्ययन नगरी प्रयोग गर्दा खासै उपयोगी हुन सकेका छैनन् ।

हाल नेपालको काठमाडौंँ—तराई मधेस द्रुतमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत स्थानमा पनि यो प्रविधिको प्रयोग गरिएको छ । यो बहुपयोगी वनस्पतिलाई प्रयोग गरी चीन, भारत, अफ्रिका, ल्याटिन अमेरिकाकी देशहरुले व्यापक फाइदा लिएको अवस्थामा । नेपालमा पनि भेटिभरको उपयोगिता तिनै तहका सरकारहरूले यसको अध्ययन अनुसन्धान गरी प्रवद्र्धनका लागि पहल गर्नु आवश्यक देखिन्छ ।

(लेखक सञ्चारकर्मी तथा भेटिभर नेपालका अध्यक्ष श्याम गोयन्का हुन्)

प्रतिक्रिया