बिहीबार, जेठ ३, २०८१

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

मेरोन्यूज २०८१ वैशाख १९ गते १७:४९

लताप । साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ ।

Advertisement

‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ ।

गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दैआएको बताए ।

‘साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,’ अधिकृत श्रेष्ठले भने ।

गङ्गाजमुना-२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेकोे भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताए । उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको उनको भनाइ छ ।

हाल ‘री’ गाउँका ६ युवाले रु दुई लाख लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्रीवितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताए । उक्त महभिर गङ्गाजमुना-२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ ।

गङ्गाजमुना-३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताए । आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ ।

भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लागेका थिए । उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ ।

गङ्गाजमुनाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाध्यक्ष रमेश ढकालले गङ्गाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताए ।

सङ्घीय राजधानी काठमाडौँमासमेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन् । गङ्गाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन् ।

पर्यटन विकास संंयोजक ढकालले गङ्गाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौँमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया