शनिबार, वैशाख १५, २०८१

पार्टीमा बहुमत पुर्‍याएसँगै मन्त्री बन्ने तयारीमा रञ्जिता

मेरोन्यूज २०८० चैत १४ गते १८:१०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले- माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बुधबार बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रदेशदेखि संघसम्म नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने निर्णय गरेको हो । यस्तै सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय समेत गरेको छ ।

२१ जना संस्थापक केन्द्रीय सदस्यहरूमध्ये बहुमत सदस्यहरू नयाँ गठबन्धनमा जान तयार भएको पार्टीले जनाएको छ ।

पार्टीमा बहुमत पुर्‍याएसँगै अध्यक्ष रञ्जिता श्रेष्ठ फेरी मन्त्री बन्ने तयारीमा छिन् । उनी निकट स्रोतका अनुसार केन्द्र सरकारमा सहभागी हुन रञ्जिता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक पटक भेटवार्ता हुँदै आएकाे छ । प्रधानमन्त्रीले कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर रञ्जितालाई जिम्मेवारी दिने आश्वासन दिएको पनि स्रोतले जनाएको छ ।

रञ्जिता यसअघि पनि दाहाल नेतृत्वकै सरकारमा भूमि, व्यवस्था तथा सहकारीमन्त्री थिइन् । सुरूदेखि नै उनी गठबन्धनप्रति सकारात्मक छिन् ।

तर सत्ता गठबन्धन फेरबदल भएसँगै नाउपाका संरक्षक रेशम चौधरी यसको विपक्षमा छन्। उनी नयाँ गठबन्धनलाई समर्थन नगर्ने पक्षमा छन् ।

गत फागुन ३० गते प्रधानमन्त्रीले विश्वासकाे मत लिन लाग्दा उनलाई विश्वासको मत दिने कि नदिने भन्नेमा रञ्जिता र रेशमबीच मतभेद देखिएको थियो ।

रञ्जिताले विश्वासको मत दिन दलका सांसदहरूलाई ह्वीप जारी गरेकी थिइन् भने रेशम पक्षले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

हाल नाउपाका पाँच सांसद कांग्रेस नेतृत्वको सुदुरपश्चिम प्रदेश सरकारमा मन्त्री छन् । रेशमकाे पक्षमा रहेका उनीहरुलाई अध्यक्ष रञ्जिताले फिर्ता बाेलाउँदा उनीहरुले मानेका थिएनन् । तर बुधबार पार्टीले नयाँ गठबन्धनमा जाने निर्णय गरेसँगै यसलाई सांसदले मान्नु पर्ने संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डित बताउँछन् ।

प्रतिक्रिया