शनिबार, वैशाख १५, २०८१

रुपन्देहीमा होलीमा ३१७ सवारी नियन्त्रणमा, दुर्घटनाबाट एकको मृत्यु

मेरोन्यूज २०८० चैत १३ गते १७:५२

भैरहवा।  रुपन्देहीमा होलीको क्रममा भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

सोमबार रुपन्देहीमा ४ वटा सवारीसाधन दुर्घटना भएकोमा ३ जना घाइते र एकजनाको मृत्यु भएको हो ।

होलीलाई मध्यनजर गर्दै रुपन्देही प्रहरी विशेष सुरक्षा योजना सहित खटिएको थियो । आपराधिक क्रियाकलाप, दुर्घटना, झै झगडा नहोस भन्ने उद्देश्यले जिल्ला मातहतका प्रहरी ईकाईहरुबाट १२८ स्थानमा चेकजाँचमा खटिएको थियो ।

दुर्घटनाबाट मृत्यु हुनेमा लु २० प ७६४१ नम्बरको मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवा गाउँका ३९ बर्षीय प्रविन कडेल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

भैरहवाको डाडागाउबाट अञ्चलपुर तर्फ जाँदै गरेका कडेल सवार मोटरसाइकल अनियन्त्रीत भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका कडेलको उपचारको क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजित सिंह राठौरले बताए । दुर्घटनामा परि ३ जना घाइते छन् ।

प्रमुख प्रहरी उपरीक्षक राठोैरले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित, मर्यादित र शान्तपूर्ण रुपमा मनाउन सक्ने वातावरण निर्माणका लागि जिल्ला मातहतका प्रहरी ईकाईहरुबाट १२८ स्थानमा चेकजाँचमा खटिएको बताउँदै जसबाट होली मनाउने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका ३१७ सवारीसाधनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

तराई क्षेत्रमा सोमबार होली पर्व मनाउने क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा सवारी नियम उलंघन गर्ने ३११ वटा मोटरसाईकल,३ वटा टेम्पो, २ वटा जिप कार र १ वटा ट्रक लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनले नियम उल्लंघन गरी सवारीसाधन चलाउने १३ जना व्यक्तिलाई पनि पक्राउ गरिएको बताए ।

प्रतिक्रिया