शनिबार, वैशाख १५, २०८१

डोल्पा एउटा खुल्ला विश्वविद्यालय हो- रन्जु दाहाल, लेखक

नरेन्द्र रौले २०८० चैत ७ गते १८:३२

घुम्न भनेपछि हुरुक्कै हुने रञ्जु दाहाल सोलो ट्राभलर हुन् । कोही साथी भेटिए ठिकै छ, नत्र एक्लै यात्रामा हिंडिदिन्छिन् । वखलढुंगाको मोलुङ गाउपालिका रामपुरमा जन्मिएर वीरगञ्जमा विहे गरेकी रञ्जुको यात्रा प्रेम अचम्मकै छ ।

पेशाले भिएस निकेतनमा शिक्षिका उनी समय मिल्यो कि नयाँ गन्तब्यमा दौडिहाल्छिन् । उनको पहिलो कृति ‘प्रियसँगको यात्रा’ (यात्रा निबन्ध) २०७५ मा प्रकाशित छ । पर्सि शुक्रबार उनको दोस्रो यात्रा निबन्ध ‘डोहोडोहो डोल्पा’ सार्वजनिक हुँदैछ । यसै सेरोफेरोमा मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईंको दोस्रो यात्रा निबन्ध ‘डोहोडोहो डोल्पा’ लेख्न कति समय लाग्यो ?

पहिलो डाफ्ट लेख्न त धेरै समय लागेन । जम्मा दुई महिनामै लेखेर सकें । त्यसपछि सम्पादन र पुर्नलेखनका लागि २ वर्षको समय खर्चिनुपर्‍यो । म आफै नेपाली शिक्षक भएपनि सम्पादनको जिम्मेवारी सम्पादकलाई दिइयो ।

‘डोहोडोहो डोल्पा’ भित्र कस्तो विषयवस्तु समेटिएको छ ?

२०७८ को कुरा हो, हामी चार जना महिलाले काठमाडौँदेखी डोल्पासम्मको यात्रा गर्‍यौं । मलाई याद छ, कात्तिक १ गतेको दिन थियो । बडा दसैंको पूर्णिमाको अघिल्लो दिन । हामीले डोल्पा आउँदा जाँदा १२ दिनको यात्रा गर्‍यौं । त्यही यात्रामा आफूले भोगेका, देखेका, अनुभव, अनुभुति गरेका विविध पक्षहरु समेटेर लेखिएको पुस्तक नै ‘डोहोडोहो डोल्पा’ हो ।

यात्रा गर्नका लागि भौगोलिक विकटता भएको डोल्पा किन छनौटमा राख्नुभयो ? सहजै पुगिने अन्य गन्तब्यहरु पनि प्रशस्त छन् नि ।

डोल्पा पुग्ने चाहना पहिल्यैदेखी नै थियो । बरु साइत चाहि अलि ढिलो जुरेको हो । मैले सकेसम्म कम खर्चमा धेरै स्थान घुम्ने सोच बोक्छु । खासमा डोल्पा एउटा खुल्ला विश्वविद्यालय हो । डोल्पाको बयान जति बयान गरेपनि शब्दमा उन्न सकिँदैन । जुन संस्कृति डोल्पामा भेटाइन्छ, अन्यत्र त्यो सम्भव छैन । त्यहाँ जातिय भेदभाव छैन । मित परम्परा अझै कायमै छ । वोन धर्म मान्नेहरुको कमी छैन । नारी स्वतन्त्रता छ । नारीले नै घर चलाउँछन् । शेफोक्सुन्डोमा ऐतिहासिक गुम्बा छ । बहुपति प्रथा पनि अझै कायमै छ । डोल्पा एक अद्भुत जिल्ला हो । एक पटक हरेक नेपालीले पुग्नै पर्ने स्थान हो, डोल्पा ।

डोल्पाको कथा लेख्नु अघि के–के अध्ययन गर्नुभयो ?
पाए जति सबै पढें । नियात्रा त खोजीखोजी पढें । भ्लग, युट्युव हेरें । स्वदेशी तथा विदेशी लेखकका किताब र लेखहरु पाए जति पढें । कुनै छुटाइनँ । डोल्पाबारे धेरै लेखिएको पनि छैन ।

तपाईं घुमफिर भनेपछि मरिहत्ते गर्ने बानी छ । कहिलेदेखी घुमफिरको लत बस्यो ?
सानैदेखी हो । मलाई मामाघर जान मन पर्दैनथ्यो । म फरक प्रकृतिको थिएँ । म यस्तो ठाउ पुगौं, जहाँ आनन्दले हेर्न मिलोस् । फरक परिवेश, नौलो कथावस्तु, संस्कार र संस्कृतिको अनुभब लिन पाईयोस् । त्यही मान्यता मैले पछिसम्मै बोकिरहें । म वखलढुंगामा जन्में । वीरगञ्जमा विहे भयो । वाल्यकालमा गढेको मान्यता कहिल्यै मेटिएन ।

अहिलेसम्म कहाँ–कहाँ पुग्नुभयो नि ?
मलाई प्राकृतिक स्थानहरु घुम्न बढी मन पर्छ । राम्रो दृश्य भएका स्थानहरुले मेरो ध्यान तान्छन् । मैले करिब–करिब सोलो यात्रा गरें । १५ वर्षको उमेरमा सोलुखुम्बुको दुधकुण्ड घुमें । केहि वर्ष पहिले एक्लै तिलिचो चक्कर लगाएँ । गएको दसैंताका सगरमाथा बेस क्याम्प, कालापत्थर घुमें । नेपाल बाहिर सिंगापुर, फिलिपिन्स घुमें । तर, विदेश घुम्दा बेकार लाग्यो ।

किन बेकार लाग्यो ?

विदेश भन्दा हाम्रै देश नेपाल अत्यन्तै सुन्दर छ । कम पैसामा धेरै स्थान घुम्न सकिन्छ ।

छोरी मानिसले घर छोडेर कतै घुम्न निस्किनु त एक प्रकारको विद्रोह नै गर्नुपर्छ । तपाईंको पारिवारिक माहोल कस्तो छ ? घरबाट अनुमति दिनुभयो ?

छोरी मानिसलाई घर छोडेर यात्रा गर्न सहज त पटक्कै छैन । त्यो पनि सोलो यात्रा कठिन छ । म धेरै संघर्ष गरेर यात्रामा निस्किएको छु । कति पटक बिद्रोह गरेर गएको छु । सम्बन्धलाई धरापमा राखेर पनि म यात्रासँग मैले एकतर्फि प्रेम गरेको छु । त्यसरी जोखिम मोलेर पनि मैले यात्रा गरिरहें । फर्किएर आउँदा घरभित्र पस्न पाउछु कि पाउँदिन डर हुन्थ्यो ।
मैले कति पटक त मौन प्रतिकार गरेर यात्रा गरें । आवाजबाट भन्दा व्यवहारबाट मैले मौन प्रतिकार गरेको छु । तैपनि यात्राप्रतिको मेरो प्रेम कहिल्यै कमी भएन ।

तपाईंलाई यात्रा गर्न के ले उत्प्रेरित गर्छ ?
मलाई पैसा र सम्पत्तिको मोह छैन । वर्तमानमा बाँच्ने हो । सम्पत्ति थुपार्नतिर लाग्ने होइन । आफ्ना लागि बाँच, आफूलाई हेर, यो जीवन एक पटक मात्र पाईन्छ । त्यसैले सम्पत्ति थुपार्नतिर नलाग, प्रकृतिमा रमाउँन सिक । मलाई यात्राले यही कुरा सिकाएको छ ।
ऋण गरेर म घुम्दिन । मसँग प्रशस्त बचत पनि हुँदैन । मैले यहाँ बस्दा खाने खर्च त्यहाँ गर्छु । पछि फर्केर थप मिहिनेत गर्छु । त्यही पैसा यात्रामा खर्चिन्छु ।

लेखनको प्रेममा कहिलेदेखी पर्नुभयो ?
मैले पहिलो पुस्तक १६ वर्षको उमेरमै लेखें । पछि कलेज पढ्ने बेला गुरु प्राध्यापक निर्मोहि व्यासलाई देखाएँ । उहाँले उत्साह दिनुभयो । वीरगञ्जको ठाकुरराम बहुमुखि क्याम्पसमा पढ्दा निर्मोही सरले घच्घच्याइरहनु भयो । उहाँ नियात्रामा पहिलो विद्यावारिधी गर्ने नेपाली हो । हाल हेटौंडा बस्नुहुन्छ ।

पहिलो पुस्तक ‘प्रियसँगको यात्रा’ लेखेको ठिक २२ वर्षपछि मैले पुस्तक प्रकाशन गरें । त्यो पनि आफ्नै खर्चमा । लेखेकै बेला पुस्तक प्रकाशन गरेको भए नेपाली नारीले लेखेको पहिलो नियात्राको पुस्तक हुने रहेछ । त्यो मौका त मैले गुमाएँ । तर, प्रकाशन चाहिं गरें ।

तपाईंको लिस्टमा प्रिय लेखक र पुस्तकहरु कुन कुन पर्छन् ?
सरुभक्तको पागल बस्ती, विपी कोईरालाको सुम्निमा, अमर न्यौपानेको सेतो धरती, मदनमणि दिक्षितको माधवी, नयनराज पाण्डेको उलार, प्रोल्लास सिन्धुलीयको भग्न भैरव । विपी कोईरालाका सबै किताब मेरा लागि उत्तिकै प्रिय छन् ।

आफुलाई के भनेर चिनाउन चाहनुहुन्छ ?
म लेखक भन्दा पाठक बढी हो । मलाई चिनाउँन मन छैन । आफ्नो बारेमा आफैले प्रचार गर्नु छैन । ठूलो मान्छे बनौंला, लेखक बनौंला भन्ने पनि छैन । लेख्नु, पढ्नु मेरा लागि रुचीका विषय हुन् । लेखिराखौं, पढिराखौं भन्ने लाग्छ । यो रुची सधैंभरी रहिरहोस् । बस्, यत्ति छ ।

प्रतिक्रिया