आइतबार, जेठ ६, २०८१

लिजेन्ड्स १९९६ लाई हराउँदै टी-२० विश्वकप टोली लिजेन्ड कपको फाइनलमा

मेरोन्यूज २०८० फागुन २८ गते १४:०८

काठमाडौँ । लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

Advertisement

रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सम्पन्न ‘एक्स्ट्राटेक लिजेन्ड कप’ को पहिलो खेलमा २०१४ विश्वकप टोलीले लिजेन्ड्स १९९६ लाई ५ विकेटले पराजित गरेको हो ।

लिजेड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछाएको टी-२० विश्वकप टोलीले ९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । जितका लागि विरेन्द्र शाहले ३५, दिपेन्द्र लामगाडेले ८ र शरद भेस्वाकर र पारस खड्काले ६-६ रन बनाएका थिए ।  

त्यस्तै लिजेन्ड्स १९९६ का बलर बसन्त शाही ठकुरीले ३ विकेट लिएका थिए भने लेख बहादुर क्षेत्री र किरण रानाले एक/एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लिजेन्ड्स १९९६ ले १० ओभरमा ८ विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

उसका लागि राजु खड्काले सर्बाधिक २७ रन बनाए भने मनिषराज पाण्डेले ११ र जगत टमाटाले ९ रन बनाएका थिए ।

त्यस्तै  विश्वकप २०१४ टिमका लागि शक्ति गौचन र सामसंग जंग थापाले २-२ विकेट लिए भने  बद्रि पंगेनी, जितेन्द्र मुखिया, दिपेन लामगाडे र ममता थापाले एक/एक विकेट लिए ।

जितपछि २०१४ विश्वकप लिजेन्ड्स टिम फाइनलमा पुगेको छ । फाइनलमा २०१४ विश्वकप लिजेन्ड्सले दोस्रो खेलको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीचको विजेतासँग खेल्ने छ । 

प्रतिक्रिया