आइतबार, जेठ ६, २०८१

नेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने 

मेरोन्यूज २०८० फागुन २८ गते १०:५१

भक्तपुर ।  भक्तपुरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता हुने भएको छ ।

Advertisement

भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २९, ३० र चैत्र १,२,३ गतेसम्म गर्न लागेको जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले शहीद दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जनाए ।

प्रत्येक वर्ष एउटा अन्तरनगर खेलकुद प्रतियोगिता गर्ने योजना अनुसार यो वर्ष कबड्डी प्रतियोगिता गर्न लागेको उनले जानकारी गराए ।

त्यसका लागि आफनै संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेको उनले जनाए । प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेको जनाइयो । 

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०÷५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको सम्मेलनमा जनाइयो । साथै सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था पनि गर्ने जनाइयो ।

फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन रयाली भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बाट गराउने कार्यक्रम तय गराइएको छ । 

नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया