सोमबार, जेठ ७, २०८१

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : अध्यक्ष ओली

मेरोन्यूज २०८० फागुन २ गते २१:०२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए ।

Advertisement

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे । उनले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए।

“एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रुपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन”, उनले भने, “एमालेलाई सवल राष्ट्रिय शक्तिबाट निर्णायक ढङ्गले सुदृढ राष्ट्रिय शक्तिका रुपमा विकास गर्न अभियान पार्टीका छ ।” उनले मिसन–२०८४ निर्वाचन मात्र नभई पार्टीलाई सवल राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने अभियान पनि रहेको बताए ।

अध्यक्ष ओलीले समय गतिशील रहेकाले पार्टीमा युवा विद्यार्थीको पुस्तान्तरण र हस्तान्तरण गरिने बताए । “पार्टीमा कार्यक्षमता, सक्रिय, योग्यता, भारवहन क्षमताका आधारमा पुस्तान्तरण र हस्तान्तरण हुन्छ”, उनले भने ।

उनले अहिले नयाँ राजनीतिक दलको सिद्धान्त समाजवाद वा पुँजीवाद के हो भन्ने थाहा नभएको बताए । उनले युवा विद्यार्थीलाई समाजले मनपराउने र स्वीकार गर्नसक्ने खालका क्रियाकलाप गर्न सुझाव दिए । “जनताले मन नपराउने, आलोचित र घृणा गर्ने कुरा नगर्नुहोस्”, उनले भने, “कुन चिज कहाँ गर्ने कसरी प्रयोग गर्ने भन्ने कुरा समाजले स्वीकार गर्न खालेको हुनुपर्दछ ।”

उनले कार्ड देखाएर विद्यार्थीको परिचय हुन नसक्ने भन्दै विद्यार्थीमा दयालु, मुस्कानसहितको व्यवहार हुनुपर्नेमा जोड दिए ।

एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इञ्चार्ज किशोर विक्रम मल्लले विद्यार्थी आन्दोलन कमजोर भइरहेकाबेला अनेरास्ववियुले रचनात्मक ढङ्गबाट क्रियाकलाप अगाडि बढाउनुपर्ने बताए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले सङ्गठनलाई शैक्षिक आन्दोलनमा केन्द्रित गर्ने बताए । बैठक यही फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया