आइतबार, जेठ ६, २०८१

यू-१९ विश्वकप : नेपाल भारतसँग १३२ रनले पराजित

मेरोन्यूज २०८० माघ १९ गते २२:१४

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

Advertisement

जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा दुई चौकासहित ३३ रन बनाए भने दुर्गेश गुप्ताले अविजित २९ बनाए । साथै ओपनरद्वय अर्जुन कुमालले २६ र दीपक बोहोराले २२ रन बनाए भने आकाश चन्दले १८ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।

भारतको जीतमा सौम्य पाण्डेले चार र असरिन कुलकर्णीले दुई विकेट लिए । साथै राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनाएको थियो । उसका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए ।

त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए ।

नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

यो संगै नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिएकाे छ भने भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया