सोमबार, वैशाख ३१, २०८१

अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेरोन्यूज २०८० माघ १९ गते १७:००

काठमाडौं, १९ माघ । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ स्थित होटल सनराईज इनबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु १ थान, नगद ८५ हजार रूपैयाँ र मोबाइल १ थानसहित भोजपुर आमचोक गाउँपालिका-९ दुम्माना ठेगाना भएका २३ वर्षीय भिम राज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

Advertisement

काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ४४ वर्षीय निर बहादुर गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ४५० मिलिग्राम र नगद १८ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

 काठमाडौं महानगरपालिका-१५ चमतीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ८ सय ६१ ट्याब्लेट र नगद ८ हजार रूपैयाँसहित सिन्धुपाल्चोक साँगाचोक गाउँपालका-८ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने २९ वर्षीय सरोज खड्का समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १५ मिलिग्रामसहित सोही नगरपालिका-३ झण्डीनगर बस्ने १९ वर्षीय इन्तेयाज अहमदलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ४० मिलिग्रामसहित सुनसरी बराहा नगरपालिका-३ बस्ने २९ वर्षीय खगेन्द्र बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा.७७ प ९७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक बुढाथोकीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकाे बिराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्रामसहित तेह्रथुम छतर गाउँपालिका-५ बस्ने ४६ वर्षीया नर्बदा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-७ कलुवापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय विजय राना रहेका छन् । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले नसिबको कोठाको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

झापाकाे बिर्तामोड नगरपालिका-३ बाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अजय राजवंशी र सोही नगरपालिका-४ बस्ने २२ वर्षीय कृष्णा कुमार थापा रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रतिक्रिया