आइतबार, जेठ ६, २०८१

गाजास्थित प्रशिक्षण केन्द्रमा गोलाबारी आक्रमण हुँदा नौ जनाको मृत्यु

मेरोन्यूज २०८० माघ ११ गते १६:५७

काठमाडौँ । गाजाको प्रमुख दक्षिणी सहर खान युिनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा बुधबार आक्रमण गरी आगो लगाइएको छ । घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

Advertisement

गाजामा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ राहत तथा योजना निकायका एजेन्सीका निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जाल एक्स ट्रवीटरमा जनाएअनुसार आठ सय जना मानिसहरु बसोबास गरिरहेको भवनमा गोलाबारी भएको थियो । आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको छ भने अन्य ७५ जना घाइते भएका छन् ।

युएनआरडब्लुए र विश्व स्वास्थ्य सङ्गठनका उद्धार टोलीहरू उद्धारको लागि केन्द्रमा पुग्ने प्रयास गरिरहेको उनले बताए।

खान युनूसको पश्चिमी क्षेत्रमा इजरायली बम विष्फोटले प्रशिक्षण केन्द्रमा ठूलो आगलागी निम्त्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आगलागीले भवनको ठूलो भागमा क्षति पुगेका कारण धेरै मृतक तथा घाइते व्यक्तिलाई केन्द्र भित्रबाट बाहिर सार्नु परेको उनले बताए ।

इजरायली सेनाले लगाएको घेराबन्दीका कारण एम्बुलेन्स र मेडिकल टोलीहरू जलिरहेको प्रशिक्षण केन्द्रमा पुग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्यालेस्टिनी विदेश मन्त्रालयले प्रशिक्षण केन्द्रमा भएको गोलाबारीको निन्दा गरेको छ । युएनआरडब्लुएका संस्था, कर्मचारी, विद्यालय, आश्रय र उपकरणहरूलाई इजरायलले सुनियोजित रूपमा आक्रमण गरेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा, इजरायली सेनाले गरेको २४ वटा आक्रमणमा २१० प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा अन्य ३८६ जना घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको आक्रमणजन्य घटनाका कारण २५ हजार ७०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ । आक्रामणमा घाइतेहरूको कूल सङ्ख्या ६३ हजार ७४० पुगेको छ ।

प्रतिक्रिया