आइतबार, जेठ २०, २०८१

सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन्छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० माघ ७ गते ११:५४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पुर्‍याइने बताए ।

प्रधानमन्त्री दाहालले सबै पक्षसँग छलफल भइरहेको र सङ्घीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रत्रि।याको बाँकी काम टुङ्गो लगाइने स्पष्ट पारे । “सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ । सदन खुल्ने वित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ”, उनले भने ।

प्रधानमन्त्रीले दाहालले सहमतिबाट सो विधेयकलाई टुङ्गो लगाउन आफू प्रयासरत रहेको स्पष्ट पारे । उनले सरकारको काम कारबाहीलाई गति दिइएको भन्दै मन्त्रीलाईसमेत सोही अनुसार काम कारबाही गर्न स्पष्ट निर्देशन दिइएको बताए ।

“मन्त्रीलाई लक्ष्य दिएर काम गराउने, सरकारको कामलाई गति दिने, जिम्मेवारीलाई ठिक ढङ्गले सम्पादन नभए सोही अनुसार निर्णय गर्नेछौँ”, प्रधानमन्त्री दाहालले भने । क्षमता र अनुभवका हिसाबले नेपालको कर्मचारीतन्त्र कमजोर नभए पनि तत्परता, गम्भीरता, पहलकदमी लिने आँटमा केही कमी भएको उनको भनाइ छ ।

आफूले मुख्य सचिव, सचिव र कर्मचारीतन्त्रसँग नियमित रुपमा छलफल गरिरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

प्रतिक्रिया