शनिबार, जेठ ५, २०८१

सम्झनामा सीमित भए गायक वैद्य

मेरोन्यूज २०८० माघ ६ गते १५:०९

काठमाडौँ । ‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित भएका छन्। शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उनको कालजयी विसं २०४२ मा रेकर्ड भएको थियो ।

Advertisement

सङ्गीतकर्मीले उनलाई अन्तिम श्रद्धाञ्जलि दिँदै ‘सपना भुलाइ सारा’ गीत गाउँदै बिदाइ गरे । उनको बिदाइमा उपस्थित अधिकांशका आँखा रसाएका थिए । कालजयी गीत गाएका गायक वैद्यको बिदाइ कसैका लागि सहज थिएन । उनी गायकसँगै कवि पनि थिए । वैद्यको निधनले साङ्गीतिक र साहित्य क्षेत्रमा अपूरणनीय क्षति पुगेको श्रद्धाञ्जलि दिनेको भनाइ थियो ।

बाल्यकालमा आमाबाट नेवारी भाषाको सरस्वती बन्दना सुन्दै हुर्किएका गायक वैद्य त्यही समयमा गीतसङ्गीतप्रति आकर्षित भएका थिए । त्यसपछि बुबाले एक दिन घरमा रेडियो ल्याएपछि उनको सङ्गीतसँगको नाता झनै झाँगियो । उक्त रेडियोमा उनले नेपालीसँगै हिन्दी गीतहरूलाई सुन्ने र बुझ्ने मौका पाए। उनले रेडियो नेपालमा दिएको एक अन्तर्वार्तामा रेडियोलाई साथीका रुपमा चित्रण गरेका छन् ।

विसं २०१४ मा चीनका प्रधानमन्त्री चाउ एन लाइ नेपाल भ्रमणमा आएका बेला शान्ति निकुञ्ज सहविद्यालय पुगेका थिए । त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा गायक वैद्यले गीत गाए । विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै गीतसङ्गीतसँग नजिकिँदै जानुभएका गायक वैद्यले रेडियो नेपालमा किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा पहिलो गीत ‘कति प्यासी छ जिन्दगी।।।’ रेकर्ड गरेका थिए ।

उनलाई चिनाउने गीत ‘सपना भुलाइ सारा’ बनेको गायक तथा सङ्गीतकार टीका भण्डारीले बताए । वैद्यले आफूलाई सुहाउने भन्दै सङ्गीतकार नातिकाजीसँग उक्त गीत मागेको उनले जानकारी दिए ।

“एक दिन गायक वैद्य नातिकाजीको कोठामा पुग्नु भएछ । त्यहाँ टेबलमा पहिलोपटक उक्त गीत देखे । त्यसपछि उनले मलाई यो गीत मन प¥यो नातिदाइ, म गाउँछु भन्नुभएछ । त्यसपछि उनले स्टुडियोमा अभ्यास गरेर गीत गाएको हो”, गायक भण्डारीले भने । उनले गायक वैद्यले व्यावसायिक रुपमा गीत गएको सम्झना नभएकोसमेत बताए ।

“उनले गीत गाएर पैसा लिएको सम्झना छैन । उनले श्रोताको मन छुने गीतमार्फत आफूलाई प्रस्तुत गरे । उनको अभाव नेपाली सङ्गीतमा रहिरहनेछ । म रेडियो नेपालमा कार्यरत रहँदा उनीसँग काम गर्न पाएको थिएँ । उहाँको गीतमा वाद्यवादन पनि गरेको छु”, गायक भण्डारीले भने, “वैद्य गीत र शब्द चिन्न सक्ने गायक हुनुहुन्थ्यो । उनी धेरै गीत गाउने गायक होइन । थोरै गीतलाई पाँचदेखि छ महिनासम्म अभ्यास गरेर गाउने गर्नुहुन्थ्यो ।”

गायक तथा सङ्गीतकार शम्भुजित बाँस्कोटाले गायक वैद्य मखमली आवाजका धनी रहेको बताए । “उहाँसँगको सामीप्यतालाई भन्ने शब्द छैन । तीन दिनअगाडि मात्र कुराकानी भएको थियो । उहाँले मेरो सङ्गीतमा पाश्र्व गायन पनि गर्नुभएको छ”, उहाँले भन्नुभयो, “वैद्यले सधैँ भारतीय गायकजस्तो नेपाली गायकगायिका बन्नुपर्नेमा जोड दिने गर्नुहुन्थ्यो । उहाँ सुगम सङ्गीतका लागि संरक्षक हुनुहुन्थ्यो । उहाँले समय–समयमा दिएका अभिव्यक्ति, गाउनुभएका गीत, गीतसङ्गीत गर्ने तरिका सबै गहन हुन्थ्यो । उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्थ्यो ।” सङ्गीतकार बाँस्कोटाले गायक वैद्यको विदाइ सहज नभएको प्रतिक्रिया दिँदै उहाँले छाडेर जानुभएका गीतसङ्गीत र कृतिहरु रहिरहने बताए ।

उनको आवाजको प्रभावमा आफूलाई काठमाडौँसम्म ल्याएको सङ्गीतकार तथा गायक चेतन सापकोटाले बताए । “उहाँको आवाजको जादुले कलामा लाग्न प्रेरित गर्ने धेरै युवा छन् । उहाँको गीतसङ्गीतलाई मैले शब्दमा व्यक्त गर्न सक्दिनँ । उहाँलगायत अग्रज सर्जकको आवाजले रेडियो नेपाललाई थप उचाइमा पु¥याएको भन्छु म”, उनले भने, “म वैद्यको आवाजले सङ्गीतमा भविष्य खोज्दै एघार वर्षको उमेरमा सिन्धुपाल्चोकदेखि काठमाडौँ आएको थिएँ । त्यो समयमा सोचविचार केही थिएन । योगेश दाइ झैँ उक्त समयका अन्य गायकको आवाजमा आफ्नो आवाज राख्दै गीतसङ्गीत सुरु गरेको हुँ ।”

नयाँ पुस्ताका उदीयमान गायक कर्णराज गिरीले उनको गीत महोत्सवमा गाएको स्मरण गरे । “उहाँसँग मेरो प्रत्यक्ष भेटघाट कमै रह्यो । त्यस्तो धेरै नजिक पनि होइन तर उहाँको गीतले हामी जस्तालाई गायक बन्ने सपना देखाउनाका साथै चिनाएको पनि छ”, उनले भने , “आफ्नै परिचय नहुँदा उहाँकै गीत गाएर मेला महोत्सवमा परिचय बनाएको हुँ । उहाँको गायन प्रभावले मलाई गायनमा लाग्न प्रत्यक्ष रुपमा सहयोग गरेको छ ।”

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् । उहाँको गीति कवितासङ्ग्रह ‘समय प्रवाहमा छुटेका पलहरू’ प्रकाशित छ । विसं २००३ असार २४ गते काठमाडौँको नरदेवीमा जन्मिएका गायक वैद्यको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाका गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए ।

७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । उनको ‘नेपाल मेरो तिमीलाई’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘यो लामो जीवनमा किन म हतासहतास छु’ लगायत गीत कालजयी छन् ।

प्रतिक्रिया