आइतबार, जेठ ६, २०८१

राष्ट्रियसभा निर्वाचन : आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन

मेरोन्यूज २०८० पुष २५ गते ७:३०

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ ।

Advertisement

सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । 

यसैबीच, दुई उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिश्वकर्माविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको दाबी गरेका छन् । कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध भने एमालेकै उम्मेद्वार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज र भोलि जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यसूची तय गरिएको छ । विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट १९ सदस्यकालागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया