सोमबार, वैशाख २४, २०८१

मन्त्रीहरुकै कारण बदनाम हुँदै सरकार 

गल्ती मन्त्री गर्ने, आलोचना प्रधानमन्त्रीले खेप्ने काम अहिले भईरहेको छ

उर्मिला शर्मा २०८० पुष १६ गते १९:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको वर्ष दिन पुगेको छ । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले आफ्नो यो कार्यकालमा रेकर्ड मात्रै बनाउने उदघोष गर्दै आएपनि उनी नेतृत्वको सरकारका मन्त्रीहरुका रवैयाकाकारण सरकार एक पछि अर्काे विवादमा पर्न थालेको छ ।

Advertisement

जसकाकारण प्रधानमन्त्री प्रचण्ड समेत आलोचनाको तारो बनेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सरकारको एक वर्षको समिक्षा गदैगर्दा काठमाडौंको बालकुमारी घटना मुटुमै विझयाउने दुखद घटना बन्न पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण सिर्जित गत शुक्रवारको घटनामा दुई युवाले अनाहकमा ज्यान गुमाउन परेपछि प्रचण्डका लागि दाँतमा ढुंगा अड्केको जस्तो बन्न पुगेको छ । यो घटनाबाट उनको समेत शिर निहुराउने काम भएको छ ।

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) मा सीप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाहरूले शुक्रबार ईपीएस शाखा कार्यालयमा प्रर्दशन गरेका थिए । युवाहरू बिहीबारैदेखि शाखाबाहिर पुगेर आन्दोलन गरिरहेका कारण सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको थियो । तर मन्त्रीको भौतिक पूर्वाधार मन्त्रीको हठका कारण उनले त्यही बाटो रोजेपछि परिस्थिती काबु बाहिर पुगेर दुखद घटना घटना पुगेको थियो ।


मन्त्री ज्वाला पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन त्यही बाटो प्रयोग गरेर जाादै गर्दा घटना घटेको थियो । सुरक्षा स्रोतका अनुसार, उनले गाडीमा बसेपछि पीएसओलाई बाटोको अवस्था कस्तो छ भनेर बुझ्न लगाएका थिए । सडक असुरक्षित भएकाले अर्को बाटो जानुपर्ने पिएसओले मन्त्रीलाई जानकारी गराएपनि उनले सोही बाटो जाने अडडी लिएका थिए।
मन्त्रीको अगाडी पिएसओको जोडबल चल्ने कुरै भएन । उनी त्यही बाटो गए ।

कान्तिपुर पार्टी प्यालेसबाट गुज्रिएपछि मन्त्री ज्वाला सवार गाडी आन्दोलनकारीले घेरे र उनीहरुलाई बाहिर निकालेर आगो लगाइदिए ।

सो घटनापछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो । त्यसक्रममा प्रहरीले गोलि समेत चलाएको थियो । झडपमा दुई जना युवाले ज्यान गुमाउँन पुगे । झडपमा प्रहरीको कुटाइबाट २३ वर्षीय सुजन र गोली लागेर २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भयो ।

तर मन्त्री ज्वालाले भने यस घटना हुँनुमा आफ्नो कुनै गल्ति नभएको बताउँदै जोगिने उपायको खोजी गरिरहेका छन् ।
उनले यस घटनामा आफ्नो कुनै सरोकार र सम्बन्ध नरहेको बताएका थिए । गोली चल्ने कुरा, मान्छेलाई गोली लाग्ने कुरा, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुनेकुरा धेरै त मलाई जानकारी छैन, गाडी आफ्नो बाटोमा मन्त्रालय गइरहेको बेलामा घेराउमा प¥यो र आगजनी गरियो’ घटनापछि मन्त्री ज्वालाले समाजिक सञ्जालमा लेखेका थिए ।

बालकुमारी घटनालाई लिएर सरकारले मन्त्री ज्वालाका पीएसओ, त्यहाँ खटिएका प्रहरी नायब उपरीक्षक र ईपीएस शाखाका प्रमुखलाई निलम्बन गरेको छ । यस्तै ललितपुरका सीडीओ र ललितपुर प्रहरी परिसरका एसएसपीलाई जिम्मेवारीमुक्त गरेको छ ।

सोमबार बसेको संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले यसै घटनाका सन्दर्भमा मन्त्री ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको छ । उनीसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको भूमिकाबारे पनि छानबिन गर्न निदेर्शन दिइएको छ ।

आज भने मन्त्री ज्वालाले आफु एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको स्पष्टीकरण दिएका छन् । उनले आफ्नो पीएसओले बालकुमारी हुँदै सिंहदरबार जान लागेको जानकारी गराउँदा प्रहरीले सडकमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको प्रष्टीकरण केहि सञ्चारमाध्यममा दिएका थिए ।

बालकुमारी घटनामा मन्त्री ज्वालासँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि चर्को आलोचना भइरहेको छ । सुरक्षा जिम्मेवारीबाट उनी चुकेको धेरैको आरोप छ ।

सोमबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति छलफल हुँदा सांसदहरूले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाए।

सरकारले नै दुई युवाको हत्या गरेको भन्दै सांसदहरूले नैतिकताका आधारमा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए ।

यस्तै आजै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी माइतीघरमण्डलबाट पक्राउ परिन् । उनीसँगै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरु गरि ५३ जनालाई नियन्त्रणमा लिएको थियो ।

मन्त्री अनिता मन्त्रिपरिषदमा बसेर निषेधित क्षेत्र घोषणा गर्ने अनि आफैं त्यो उलंघन गर्न हिँड्ने भन्दै उनको चर्को विरोध भइरहेको छ ।

स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । निषेधित क्षेत्रमा मन्त्री आफै पुगेर धर्ना दिने , उनलाई पक्राउ गर्ने र फेरि गृहमन्त्री नै पुगेर छुटाउने घटना आफैमा नाटकिय छ ।

यसले पनि सरकारका मन्त्रीहरुको रवैया छर्लङ पार्छ ।

सरकारका अन्य मन्त्रीहरु पनि कार्यक्षमता देखाउने भन्दा हिरोइजममा रमाउन थालेका कारण पनि प्रधानमन्त्री समेतलाई अप्ठ्यारो पारेको थियो । केही समय अगाडी सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सूदन किराँतीले दिएको भाषणले पनि सरकार आलोचित बन्न पुगेको थियो ।

प्रतिक्रिया