शुक्रबार, फागुन १८, २०८०

विमानस्थलबाट यसरी समातियाे १४ किलो सुन

मेरोन्यूज २०८० मंसिर २२ गते १७:०७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिन रोकिएको छैन भन्ने फेरि प्रमाणित भएको छ । विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे १४ किलो सुन बरामद गरेपछि फेरि सुन काण्ड चर्चामा छ ।

पटक पटक विमानस्थलबाट सुन तस्करी भइरहँदा शुक्रबार बरामद भएको सुन कसरी भित्रन खोजेको थियो भन्ने केही तथ्य प्रहरीले अनुसन्धानपछि सार्वजनिक गरेको छ । विमानस्थल भन्सार कार्यलयले पनि पत्रकार सम्मेलन गरेर बरामद सुनका बारेमा केही तथ्य सार्वजनिक गरेको छ ।

विमानस्थल भन्सार कार्यालयले बरामद सुनका बारेमा पूर्व सूचना प्राप्त भएकै आधारमा सुन बरामद गरिएको बताएका छन् ।

‘हामीलाई आएको सूचनाका आधारमा बुधवार रातभर खट्दा पनि व्यक्ति र सुन फेला परेन । तर हामी थाकेनौँ । बिहीबार फेरि हामीले अपरेसन जारी राख्यौँ र म आफैँ फिल्डमा खटिएँ । सूचनाबारे हामी एक दुई जनालाई मात्रै जानकारी थियो । बिहीबार पक्राउ परेका व्यक्ति विमानबाट ओर्लने बित्तिकै हामीले वाक थ्रुमा नियन्त्रणमा लियौँ । अन्यत्र कतै जान नदिई कसैसँग भेट गर्न नदिएका कारण हामीले उनलाई सुनसहित पक्रन सफल भयौँ ।’ विमानस्थल प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘सुन ल्याउँदै गर्दा नियन्त्रणमा लिएको गोरखाका चन्द्र घलेले जहाजबाट ओर्लने वित्तिकै आगमन कक्षको डस्टबिन -फोहोर फाल्ने ठाउँ’मा सुनको ज्याकेट नै फालेर बाहिर फोहोर उठाउनेसँग लिने योजना बनाएका थिए । प्रहरीका अनुसार उनी दुवईबाट कसैका लागि सुन ल्याउँदै गर्दा पक्राउ परेका थिए ।

Advertisement

उनी भरिया मात्र थिए ।

सुरुमा उनले पक्राउ परेपनि केही तथ्य खुलाएका थिएनन् । पछि आफु भरिया मात्र भएको बताएपछि उनलाई भरिया बनाउने मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

मीनबहादुरले यसअघि पनि उनै चन्द्रलाई भरिया बनाएर सुन ल्याउन पठाउने र उनले त्यसैगरी सुन फोहरको डस्बिनमा फाल्ने मीनबहादुरले फोहोर उठाउने व्यक्तिसँग पटक पटक सुन लिएको चन्द्रले प्रहरीलाई बयानमा बताएको प्रहरीको दावी छ ।

प्रहरी अनुसन्धानमा पनि चन्द्र सन् २०२३ मा मात्रै पनि ५ पटक दुबई ओहोर९दोहोर गरेको पाइएको छ।

उनी नेपालबाट दुबई पुगेको तीन दिनमै फर्किएका छन्। पछिल्लो एक वर्षयताको रेकर्ड अनुसार उनी पहिलो पटक गत माघमा दुबई पुगेको तथ्य फेला परेको छ।

२०७९ माघ २४ गते (फेब्रुअरी ७) दुबई गएका घले त्यसको तीन दिनमै नेपाल फर्किएका थिए। उनी माघ २७ गते ९फेब्रुअरी १०० मा काठमाडौं फर्किएको प्रहरी स्रोतले जानकारी दिएको छ।

त्यसको तीन महिनापछि फेरि उनी दुबई पुगेका थिए । २०८० वैशाख २७ गते गएका उनी वैशाख ३० गते फर्किएका थिए । यसपटक पनि उनी तीन दिनमै फर्किएको रेकर्ड भेटिएको छ।

यस्तै २०८० भदौ १७ गते तेस्रो पटक यूएई गएका घले दुई दिनपछि अर्थात् १९ गते काठमाडौं फर्किएको प्रमाण भेटिएको छ। भदौमा दुबई पुगेर दुई दिनमै फर्किएका घले अर्को महिना पनि पुगेका थिए।

फेरि उनी असोज २८ गते दुबई गएर कात्तिक १ गते फर्किएको भेटिएको छ । पाँचौँ पटक उनी मंसिर १८ गते दुबई गएका थिए। दुबईबाट चार तीन दिनमै फर्किएका घले बिहीबार राति १४ किलो सुन लिएर काठमाडौं ओर्लिँदा पक्राउ परे।

प्रहरीले सुन तस्करीका बारेमा नयाँ नयाँ तथ्य फेला परिरहेको जनाएको छ । यसमा थप अनुसन्धान गर्न प्रहरी जुटिरहेको छ ।

प्रतिक्रिया