मंगलबार, जेठ १, २०८१

राष्ट्रियसभा सदस्य बन्न आकांक्षीको लर्काे

पहिले राष्ट्रियसभा छिर्ने, त्यसपछि अध्यक्ष बन्ने भित्री तयारी

शितल शर्मा २०८० मंसिर २१ गते २१:१२

काठमाडौं । राष्ट्रियसभा चुनाव माघ ११ गते हुँदैछ । राष्ट्रपतिबाट मनोनित एक जनासहित २० जना सदस्यको कार्यकाल आगामी फागुनमा सकिँन लागेकोले उनीहरुको रिक्त स्थानका लागि माघ ११ मा चुनाव हुन लागेको हो । चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

Advertisement

फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका र स्वतन्त्र सांसद १–१ जना गरी २० सांसदको पदावधि सकिँदै छ । त्यसमा, कोशी प्रदेशबाट २, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदै छ । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको पनि पदावधि सकिँदै छ ।

चुनावमा सत्तासिन दलहरुका बीचमा फेरि पनि गठबन्धन गर्ने भित्री तयारी छ । त्यसका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुका बीचमा सिट बाँडफाँड गर्ने गरि आन्तरिक छलफल पारम्भ भएको छ ।

प्रदेश सभा र स्थानिय तहका प्रमुख उपप्रमुख मतदाता रहेको राष्ट्रियसभामा अहिलेको सत्ता गठबन्धन दल एकातिर उभिदाँ प्रमुख प्रतिपक्षी दललाई चुनाव जित्न मुश्किल पर्ने देखिएको छ ।

चुनावमा सत्तासिन दलहरुको गठबन्धन बन्ने र चुनाव सहज जितिने चुनावी आँकडासहित प्रमुख दल कांग्रेस, माओवादी लगायतका दलका शीर्ष नेताहरु नै राष्ट्रियसभा मा उम्मेदवार बन्न कम्मर कसेर लाग्न थालेका छन् ।

कांग्रेसका त आधा दर्जन बढी शीर्ष नेताहरु नै आफुले उम्मेदवार बन्ने नबताएपनि भित्री लविइङमा लागेका छन् । त्यस्तो लविइङमा लाग्नेमध्येमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ पहिलो नम्बरमा छन् । उनले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीबाट आफनो नाम समेत झिकिसकेका छन् । उनी आदीवासी जनजातितर्फबाट पुरुषको पहिलो नम्बरको सूचीमा थिए । तर कांग्रेसले चार जना मात्र पुरुष समानुपातिकबाट सांसद बनाउन पाएपछि उनी आदीबासी जनजातितर्फको पुरुषको पहिलो नम्बरमा भएपनि छुटेका थिए ।

त्यही गुण तिर्न भएपनि आफुलाई राष्ट्रियसभामा लैजानुपर्ने मतका साथ उनी सभापति शेरवहादुर देउवामाथी दवाव बढाईरहेका छन् ।

उनी मात्रै होइन, कांग्रेसका पूर्व महामन्त्री समेत रहेका र पार्टीभित्रै तेस्रो धार चलाएपनि पार्टी महाधिवेशनमा सभापति देउवाको समुहमा समाहित भएका कृष्ण सिटौला पनि राष्ट्रियसभा सदस्य बन्ने भित्री तयारीमा छन् ।

झापा ३ बाट उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग चुनावमा पराजित भएका थिए । उनी प्रत्यक्षमा चुनाव जित्न नसकेपछि अब फेरि राष्ट्रियसभामा छिर्ने दाउमा लागेका हुन् ।

जीवनको करिव उत्तरार्धमा अब फेरि राष्ट्रियसभा भएपनि छोडने हो भने अर्काे चुनावमा पनि जित निकाल्न मुश्किल देखेरै सिटौला राष्ट्रियसभा छिर्ने दाउमा लागेका हुन् ।

त्यस्तै राष्ट्रियसभा छिर्ने दाउमा लागेका अर्का कांग्रेसका शीर्ष नेता हुन् सहमहामन्त्री फरमुल्लाह मन्सुर । उनी पनि कांग्रेसको समानुपातिक सूचीमा थिए । तर उनले पनि सूचीबाट प्रतिनिधिसभा सदस्यमा आफुलाई सांसदका रुपमा लैजान सकेनन । निर्वाच्न आयोगले समानुपातिकको बन्द सूचीमा रहेकालाई उम्मेदवार बन्न नपाउने भनेपछि उनले आफनो नाम बन्दसूचीबाट झिकेर राष्ट्रियसभा उम्मेदवार बनाउन देउवासँग लविइङमा लागेका छन् ।
निर्वाचन ऐनको दफा ३० ९२० मा ‘प्रतिनिधि सभा गठन भइसकेपछि मनोनयन गर्ने दलले कुनै उम्मेदवारको नाम हटाउन लेखी पठाएमा आयोगले बन्दसूचीबाट त्यस्तो उम्मेदवारको नाम हटाउन सक्ने’ उल्लेख छ ।

अर्का सहमहामन्त्रीमहालक्ष्मी उपाध्याय डिना पनि राष्ट्रियसभा सदस्यको आकांक्षीका रुपमा हेरिएको छ ।

कांग्रेसबाट गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, सुजाता कोइराला, डिना उपाध्याय, शुक्रराज शर्मा, गोविन्द पोखरेल, मीन विश्वकर्मा, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना, भरत शाह, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतका आकांक्षी छन् ।

मीन विश्वकर्माले २०७९ सालको चुनावमा टिकट पाएका थिएनन् । मिनेन्द्रले पनि टिकट पाएका थिएनन । सुजाता भने चुनावमा पराजित भएका हुन् ।

अहिलेको सत्ता गठबन्धनमा चुनावी भागवन्डा भएमा कांग्रेसको भागमा ८ या ९ सिट मात्र पर्छ । तर ती सिटमा शीर्ष नेताहरुले नै आकांक्षा बढाउँदा अन्यले भने अवसर पाउने सम्भाबना न्यून देखिएको कांग्रेस नेताहरु बताउन थालेका छन् ।

यसरी आकांक्षा देखाउने शीर्ष नेताहरुले पहिले राष्ट्रियसभा सदस्यका रुपमा संसद छिर्ने र त्यसपछि राष्ट्रियसभा अध्यक्षको लविइङ गर्ने तयारी अनुरुप लागेका छन् ।
राष्ट्रियसभा मा अहिले एमालेका गणेशप्रसाद तिमिल्सिना अध्यक्ष छन् । उनको पनि फागुनमै कार्यकाल सकिदैछ । सोही कारण पनि कांग्रेसका शीर्ष नेताहरुले राष्ट्रियसभा अध्यक्ष बन्ने आकांक्षाले राष्ट्रियसभा प्रवेशको बाटो खोजेका हुन् ।

अहिले राष्ट्रियसभामा उपाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित सांसद उर्मिला अर्याल छिन् । गठबन्धन यही कायम रहँदा माओवादीले प्रधानमन्त्री पनि चलाईरहेको, राष्ट्रियसभा मा उपाध्यक्ष माओवादीकै रहेकोले दावी गर्न नपाउने अवस्था छ । सोही कारण पनि कांग्रेसका शीर्ष नेताहरु सम्वैधानिक पदका रुपमा रहेको राष्ट्रियसभा अध्यक्ष बन्ने भित्री आंकाक्षासहित राष्ट्रियसभा सदस्य भएर संसद छिर्ने दाउमा लागेका हुन् ।

माओवादीभित्र पनि राष्ट्रियसभा सदस्य बन्नको लागि भित्री लविइङमा नेताहरुको ठूलै हुल रहेको माओवादी स्रोतले बताएको छ ।

माओवादीमा उपाध्यक्ष कृष्णबहादुर महरा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु हरिबोल गजुरेल, मात्रिका यादव, सचिवहरु गणेश शाह, हितमान शाक्य लगायतका नेताहरु अहिले सांसद छैनन । उनीहरुमध्ये भुसाल, गुरुङ, यादवहरु गत वर्ष प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।

उनीहरुले आकाक्षा देखाएको बाहिर देखिएको छैन । तर अध्यक्ष प्रचण्डले उनीहरुबाट पनि लान सक्ने सम्भाबना रहेको पनि केही माओवादी नेताहरु बताउँछन् ।

माओवादीबाट पूर्वकानुनमन्त्री अजय शंकर नायक, एक कार्यकालको अनुभव गरिसकेका रामनारायण बिडारी लगायतका नेता पनि आकांक्षी छन् ।

सत्तारुढ दल एकीकृत समाजवादीमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, अर्का उपाध्यक्ष घनेन्द्र बस्नेत पनि आकांक्षी हुन् । त्यस्तै, पार्टीले कृषिमन्त्री हुने व्यक्तिको पनि खोजी गरिरहेको छ । बेदुराम भुसालको पनि पदावधी सकने भएपछि एकीकृत समाजवादीमा कृर्षिमन्त्रीको समेत खोजी गर्ने गरी उम्मेदवारको खोजी गरेका हुन् । त्यसो हुँदा महासचिव घनश्याम भुसालले नचाहे पनि पार्टीले कृषि मन्त्रीको खोजीमा उनलाई पनि राष्टिय सभामा लैजाने गरी पठाउन सक्छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया