लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

नेपालगञ्ज । नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षक समेत बनेका छन् ।
“अहिले बल्ल वास्तविक जीवनमा फर्केको महसुस हुन्छ”, एक पूर्व लागुऔषध प्रयोगकर्ता युवतीले भनिन् । पुनःस्थापना केन्द्रमा पहिलो, दोस्रो र अन्तिम उपचारमा संलग्न भएपछि वास्तविक जीवनलाई बुझेको उल्लेख गर्दै उनले लागुऔषधको सेवन गलत रहेछ भन्ने कुरा बुझेको अनुभव सुनाए ।
“मैले लागुऔषध प्रयोग गर्दा परिवारको माया लाग्दैनथ्यो, तर अहिले मेरो व्यवहार परिवर्तन भएपछि परिवारको र समाजको माया लाग्छ”, स्नातक तहमा अध्ययन गर्दै आएकी ती युवतीले भनिन् । करिब ११ महिनादेखि यस संस्थामा रहेकी उनले लागुऔषध प्रयोग गर्दा खानाको वास्ता नभएको तर अहिले नशा छाडेपछि आफ्नो स्वास्थ्य अवस्था पनि राम्रो भएको बताए ।
“मैले लागुऔषध प्रयोग गर्दा केही पनि सोच्न सक्दैनथे तर अहिले मेरो मानसिक स्वास्थ्य पनि राम्रो भएको छ”, उनले भनिन्, “लागुऔषध प्रयोगकर्तासँग अहिले म आफैँले जानकारी लिएर ‘इनपुट र शेयरिङ गरिरहेकी छु । मलाई के लाग्छ भने शेयरिङ सबैभन्दा उत्कृष्ट औषधि हो ।”
पाँच वर्षदेखि सञ्चालनमा आएको नवदृष्टी पुनःस्थापना केन्द्रकी संस्थापक सिमरन राजभण्डारीले आफू पनि कुनै न कुनैरुपमा लागुऔषधमा फसेको र पछि व्यवहार परिवर्तन भएपछि यस क्षेत्रमै काम गर्नुपर्छ भन्ने सोचको विकास भइ महिला पुनःस्थापना केन्द्र सुरु गरिएको बताईन् ।
साथीहरुको लहलहैमा लागेर आफू पनि लामो समय लागुऔषधको दुव्र्यसनमा फसेको बताउँदै उनले आवासीय रुपमा पुनःस्थापना केन्द्रमा बसेकी महिला तथा युवतीलाई व्यवहार परिवर्तनका विषयमा सिकाइने जानकारी दिईन् । लागुऔषध प्रयोगकर्ताको व्यवहार परिवर्तन गर्न प्रत्येक विहान नियमित अभ्यास, ध्यान, आदर तथा सत्कारलगायत व्यवहारका विषयमा सिकाइनुका साथै चिकित्सकमार्फत उपचार पनि गरिने राजभण्डारीले बताए ।
“उनीहरुलाई महसुस हुने गरी परामर्श गरेर लागुऔषध प्रयोगकर्ता युवती तथा महिलाको व्यवहार परिवर्तन गर्न सकिन्छ”, उनले भने । सो संस्थामा फिजिसियन चिकित्सक, मनोपरामर्शदातासहित सात जनाको जनशक्ति कार्यरत छ । पच्चीस जनाको क्षमता रहेको पुनःस्थापना केन्द्रमा अहिले विभिन्न जिल्लाबाट आएका १९ जना युवती तथा महिला हुनुहुन्छ । तीमध्ये सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका लागुऔषध प्रयोगकर्ता हुनुहुुन्छ । पुनःस्थापना केन्द्रमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कपिलवस्तु र रुपन्देहीका लागुऔषध प्रयोगकर्ता युवती तथा महिला छन् । १५ देखि २५ वर्ष उमेर समूहका युवतीले ब्राउन सुगरको प्रयोग गरेको र २५ देखि ५५ वर्ष उमेर समूहका महिलाले धेरैजसो मदिरा सेवन गरेको पाइएको संस्थापक राजभण्डारीले बताए ।
उनले पुनःस्थापना केन्द्रमा अवासका लागि विभिन्न प्याकेज रहेको जानकारी दिँदै तीन महिनामा खासै परिवर्तन नभए पनि छदेखि नौ महिनामा व्यवहार परिवर्तन भएको पाइएको बताए । “कतिपय अभिभावकले यहाँ ल्याएर छोड्नुहुन्छ र सम्पर्कविहीन भइदिनुहुन्छ त्यसले हामीलाई कहिलेकाहीँ अप्ठयारो पार्छ”, उनले भने, “उनीहरुलाई संस्थामा भित्र्याएर चिकित्सकमार्फत उपचार सुरु हुन्छ र त्यो बेला उनीहरुको शारीरिक अवस्था कमजोर हुन्छ, त्यसबेला उनीहरुमा बेहोसजस्तो हुने र चिच्याउने, कराउनेलगायतका व्यवहार देखिन्छ ।”
पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक राशी रावलले युवती तथा महिलालाई अभिभावकले पुनःस्थापना केन्द्रमा राख्ने समय कम भएका कारण व्यवहार परिवर्तनमा समस्या आएको उल्लेख गगरे । उनले मानसिक स्वास्थ्यको अवस्था राम्रो हुन कम्तीमा एक वर्षको समय लाग्ने भन्दै लागुऔषध प्रयोगकर्तालाई विगतका कुरा बिर्साउने विषयलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
नेपालगञ्जमा महिला पुनःस्थापना केन्द्र एउटा मात्रै छ । केन्द्रमा उपचार गरी पाँच वर्षमा करिब दुई सय महिला तथा युवती घर फर्किएका छन्, भने ६० प्रतिशतको व्यवहार परिवर्तन भइ सामान्य जीवन बिताएको संस्थाको भनाइ छ ।







सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया