शनिबार, मंसिर २३, २०८०

आगामी अधिवेशनमा सडक आश्रित मानवको व्यवस्थापन हुनेगरी विधेयक पेश गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

मेरोन्यूज २०८० मंसिर ४ गते १८:०३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी संसद अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवहरूको समुचित व्यवस्थापन हुने गरी विधेयक पेश गर्ने प्रतिवद्धता जनाएका छन्।

मानव सेवा आश्रमले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बेवारिसे, असहाय, अशक्त, जोखिममा परेका, मानसिक असन्तुलन भएका, सहयोगापेक्षी सडक आश्रित मानिसहरूको समुचित व्यवस्थापन गर्न आउँदो संघीय अधिवेशनसम्म नेपाल सरकारले सोसम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘संघ, पदेश र स्थानीय तहका सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ आफ्नो तर्फबाट कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न आवश्यक पहल र समन्वय गर्ने कुरा पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

यस्तै उनले मानवसेवा आश्रमलाई सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्दार वाहन लगायत अत्यावश्यक सेवाहरुमा आवश्यक सहयोग गर्न पनि सरकार प्रतिवद्द रहेकाे बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको सरकारलाई पनि सडक सहयोगोपेक्षी मानवहरूको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए ।

प्रतिक्रिया