शनिबार, मंसिर २३, २०८०

अर्थमन्त्री महतको दाबी : यो वर्ष अहिलेसम्मकै धरै विदेशी पर्यटक आउँछन्

मेरोन्यूज २०८० मंसिर ४ गते १६:०१

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् ।

सोमबार नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले यस्तो दाबी गरेका हुन् । उनले नेपालमा लगानी विस्तरै बढ्दै गइरहेको बताए ।

मन्त्री महतले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताए । उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने जानकारी दिए ।

‘‘लगानी र जग्गा कारोबार विस्तरै बढ्दैछ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने । मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ ।’ मन्त्री महतले भने ,’आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछन् । जहाँ निश्चित ठाउँभन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरूलाई ऋण तिर्न गाह्रो भएको छ ।’’

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए ।

प्रतिक्रिया