मंगलबार, जेठ १, २०८१

बाबुराम र विप्लवसँग प्रचण्डको ‘पार्टी एकता’ संवाद

बाबुरामसँग शुक्रबार बेलुकी र विप्लवसँग आइतबार बिहान प्रचण्डले संवाद गरेका छन्

शितल शर्मा २०८० मंसिर ३ गते २०:०६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)सँग पार्टी एकता सम्वाद गरेका छन् । डा बाबुरामसँग शुक्रबार साँझ र विप्लवसँग आइतबार बिहान पार्टी एकता संवाद गरेका हुन् ।

Advertisement

बाबुरामसँगको शुक्रवार बेलुकीको छलफलका आधारमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि एकता संयोजन समिति बनाउन शीर्ष नेताहरुलाई सुझाव समेत दिएका छन् । विप्लवसँगको एकताका लागि भने दुवै नेता सकारात्मक नै छन् ।
पछिल्लो चरण एकताका लागि अनिच्छुक देखिरहेका बाबुरामलाई प्रचण्डले उनकै पार्टीका नेताहरुमार्फत पनि दवाव बढाउन थालेका छन् । त्यही क्रममा शुक्रवार पार्टी नेताहरुको दवावकै बीचमा बाबुरामले प्रचण्डसँग संवाद गरेका थिए ।

बाबुराम र विप्लवसँगको वार्ताको पुष्टि प्रचण्डले रुकुम पूर्व पुगेर आज मात्रै गरेका छन् । पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै प्रचण्डले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको बताउँदै बाबुराम र विप्लवसँगको संवाद भईरहेको खुलाएका हुन् ।

विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा बाबुराम र विप्लवसँग पनि छलफल भईरहेको छ, प्रचण्डले रुकुमपूर्वको जनसभामा भने, ‘विप्लवसँग आज बिहान मात्रै छलफल भएको छ । डा बाबुराम भट्ट्रराईसँग पनि निरन्तर संवाद भइरहेको छ ।’

प्रचण्डले रुकुमपूर्वमा बाबुराम र विप्लवसँग एकता संवाद भईरहेको बताईरहँदा यता माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भने माओवादी र नेसपाका नेताहरुको वार्ता टोलीका बीचमा छलफल भईरहेको थियो। त्यसपछि यो एकता वार्ता टोलीले दुवै पार्टीका शीर्ष नेतृत्व तहमै एकता संयोजन समिति बनाउन, सैद्दान्तिक राजनीतिक विषय देखि विधान, पार्टी नाम, चुनाव चिन्ह्र लगायतका विषयमा सहमति जुटाउन आग्रह गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् संयुक्त वक्तब्य

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने छलफल नयाँ भने होइन । पार्टी एकता गर्ने सहमतिअनुसार नै नेसपाले गत बर्षको २०७९ मंसिरको चुनावमा माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय लिएको थियो । बाबुराम उठ्दै आईरहेको गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव लड्न बाबुरामले निर्वाचन क्षेत्र समेत छोडेका थिए ।

गत चैतमा नेसपाले पार्टी एकताको आधार भन्दै माओवादीलाई ९ बुँदे पत्र पनि पठायो, तर पार्टी एकता प्रक्रिया अगाडि बढेन ।

तर पछिल्ला दिनमा बाबुराम र प्रचण्डका बीचमा फेरि सम्बाद टाढिएको थियो । प्रचण्डले आफूलाई उपेन्द्र यादवको दवावमा समाजवादी मोर्चामा नराखेपछि भट्टराई माओवादी केन्द्रसँग एकता नगर्ने मूडमा पुगेका थिए । तर बाबुरामको पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ तत्काल माओवादीसँग पार्टी एकताको पक्षमा रहेपछि बाबुराममा पनि दबाब बढेको छ ।

यादव र श्रेष्ठ लगायतको दबाबमै बाबुरामले शुक्रवार प्रचण्डसँग बालुवाटारमा एकता वार्तँ गरेका थिए । उक्त वार्तामा पार्टी एकता अगाडि बढाउने प्रस्ताव राखे । ‘तपाईंको पार्टीका साथीहरूको पनि दबाब छ, पार्टी एकता गरेर जाऊँ’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेसपाका एक नेताले भने, ‘बरु तपाईं र मेरै नेतृत्वमा पार्टी संयोजन समिति बनाएर जाऔं, त्यसो गर्दा संवाद थप प्रभावकारी हुन्छ ।’

माओवादी केन्द्रभित्र बाबुरामसहित एकता परिणाममुखी हुने बुझाइ बनेपछि नेसपाकै नेतामार्फत बाबुरामलाई एकताका लागि दवाव बढाइएको छ ।

‘गणतन्त्रविरुद्ध प्रतिगामीहरू एकजुट बनिरहेका छन्, शान्ति प्रक्रियाका काम बाँकी नै छन्, अलि ठूलै पहलकदमी नलिइकन अगाडि बढ्न मुस्किल छ’, शुक्रबार साँझ बाबुरामसँगको संवादमा प्रचण्डको भनाइ उद्धृत गदै नेसपाका ती नेताले भने, ‘अलि ठूलै एकता नगरी हुँदैन, हामीले एकता गरेर एउटा सन्देश दिऔं र समाजवादी केन्द्रको पक्षमा माहोल बनाऔं ।’

तर नेसपा अध्यक्ष डा। भट्टराई भने तत्काल माओवादीसँग पार्टी एकता गर्ने पक्षमा देखिएनन् । तर पनि पार्टीभित्र एकताका लागि आफुमाथी परिरहेको दबाब पन्छाएर उनीपनि अगाडी जाने पक्षमा देखिन्नन् । भट्टराईले आफू तत्काल कम्युनिष्ट एकताको पक्षमा नरहेको भन्दै एकता नै गर्ने भए बृहत् वाम एकता गर्नुपर्ने धारणा राखेका थिए ।

नेसपाले मंसिर ६ र ७ मा पार्टी बैठक बोलाएको छ । त्यही बैठकबाट एकता संयोजन समिति बनाउन बाबुराममाथी दवाव छ । बाबुरामले एकता संयोजन समिति बनाउन तयार भए तत्काल छलफल तीव्र पार्ने र एकता प्रक्रिया टुग्गो लगाउने पक्षमा प्रचण्ड देखिएका छन् ।

उता विप्लवसँग पनि समाजवादी मोर्चामार्फत नजिक भएका प्रचण्ड उनलाई पनि तत्काल एकताका लागि फकाईरहेका छन् । विप्लव भने एकताका लागि बाबुराम भन्दा सकारात्मक रहेको माओवादी नेताहरुको भनाई छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया