आइतबार, वैशाख २३, २०८१

कोशीमा मन्त्रालय भागवन्डाको यस्तो छ तयारी

काँग्रेसलाई मुख्यमन्त्रीसहित ४, माओवादीलाई ३, नेकपा एस र जसपालाई १-१ मन्त्रालय दिने समझदारी

मेरोन्यूज २०८० कार्तिक २५ गते १३:३५

विराटनगर । एमालेको साथ र सहयोगमा प्रदेश सरकारको नेतृत्व सम्हालेका कोशीका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारका बारेमा छलफल थालेका छन् । यधपी ,उनले सरकार बिस्तार भने अब तिहार र छठ पछि मात्र गर्ने भएका छन् ।

Advertisement

तर त्यसको पूर्व तयारीका क्रममा सरकारमा सहभागी दलहरुलाई भागवन्डा लगाइने मन्त्रालय, पार्टीहरुका तर्फबाट मन्त्री बन्नेहरुको सूची लगायतका विषयमा भने उनले तिहार र छटकै बीचमा पनि आन्तरिक तयारी भने जारी राख्ने भएको उनको सचिवालय स्रोतले बताएको छ ।

उनलाई सरकारमा बसाल्न सहयोग गर्ने नेकपा एमाले भने सरकारबाट बाहिरिसकेको छ । मुख्यमन्त्री कार्कीले माओवादी र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएपछि एमालेले भने सरकार छोडेर प्रतिपक्षी बेन्चमा बस्न थालेको हो । यधपी, एमालेले कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत भने कायमै राखेको छ ।

कार्कीले अहिलेसम्म पनि सरकारमा सहभागी भएका आफ्नै पार्टीका नेता देखि माओवादीसम्मका नेताहरुको कार्यविभाजन भने गरेका छैनन । पहिले सरकारमा सहभागी दलहरुका बीचमा मन्त्रालय भागवन्डा लगाउने र त्यसपछि मात्र कार्यविभाजन गर्ने तयारीमा मुख्यमन्त्री कार्की छन् ।

केन्द्रीय सत्ता गठबन्धन कोशीमा पनि एमालेले तोडन चाहेपनि असफल भएपछि सत्ता गठबन्धन दलका बीचमै मन्त्रालय भागवन्डा लगाउने गरि भित्री समझदारी बनेको छ । यो समझदारी अनुसार, कोशीमा कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको छ ।

सरकारमा रहेको माओवादी केन्द्रले तीन मन्त्रालय, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले भने एक एक मन्त्रालय लिने गरी गठबन्धन दलहरुका बीचमा समझदारी बनेको छ ।

यो समझदारीमा जनता समाजवादी पार्टीले भने आफुहरु सरकारमा नजाने बताईसकेको छ ।
तर सरकारमा आफुहरुलाई साथ चाहिने र कुनै पनि बेला जसपा सरकारमा आउन सक्ने ठानेरै गठबन्धन दलले भने जसपालाई पनि एउटा मन्त्रालय दिने गरि भागवन्डा भने
लगाएका छन् । जसपाको कोशीमा एउटै मात्र सांसद छन् ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार पनि गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । मुख्यमन्त्री कार्कीले काँग्रेस दलका नेता उद्धव थापा र जसपाकी सांसद निर्मला लिम्बूसँग पनि बिहीबार छलफल गरेका थिए ।

यही छलफलका आधारमा दलहरुका बीचमा मन्त्रालय भागवन्डामा समझदारी बनेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । तर मन्त्रीमण्डल विस्तार भने तिहार र छट पछि मात्र गर्ने समझदारी बनेको छ । तिहार सकेर छट मंसिर ३ गते परेको छ । त्यसआधारमा मंसिरको पहिलो सातामात्र कोशीमा मनित्रमण्डल विस्तार हुने छ ।

सरकारले मङ्सिर १६ गतेसम्ममा बजेट अध्यादेश प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्ने छ । त्यसका बारेमा पनि मुख्यमन्त्री कार्कीले गठबन्धन दलका नेताहरुसँग परामर्श गरिरहेका छन् । मुख्यमन्त्री कार्कीलाई गठबन्धन दलका नेताहरुले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्न आग्रह पनि गरेका छन् ।

यस्तै, प्रदेश सरकारका राजनीतिक नियुक्तिमा पनि सहमतिकै आधारमा गर्ने उनीहरूको सहमति छ । ‘मुख्य गरेर सरकार
विस्तार छठपछि गर्ने, निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन गर्ने, संसदीय समिति गठन र राजनीतिक नियुक्ति सहमतिकै लागि गर्ने प्रारम्भिक छलफल भएको छ,’ माओवादी कोशी प्रदेश दलका नेता इन्द्र आङ्बोले भने, ‘उपर्युक्त कुराहरू पालैपालो गर्दै जाने भन्ने भएको छ ।’

प्रतिक्रिया