आइतबार, जेठ ६, २०८१

रुकुम पश्चिममा खोजी र उद्धारको काम सकियो, राहत वितरण सुरु

मेरोन्यूज २०८० कार्तिक १९ गते २०:३४

काठमाडौँ । शुक्रबार मध्यरातको भूकम्पका कारण रुकुम पश्चिममा भएको क्षतिअन्तर्गत मानवीय खोजी र उद्धारको काम सकिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

Advertisement

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खोज र उद्धारको काम पूरा भएकाले अब राहत र पुनर्स्थापनाको काम अघि बढाएको जानकारी दिए । सबैको सक्रिय सहयोगमा भूकम्पका कारण हराएकाहरूको खोजी र उद्धारको काम सफलतापूर्वक पूरा भएको पन्तले बताए ।

‘सबैको साथ सहयोग र सक्रियताले भूकम्पबाट भत्किएका संरचनाभित्र पुरिएकाको खोजी र उद्धार सकेका छौँ । घाइतेको उपचारमा उचित प्रबन्ध मिलाइएको छ,’ पन्तले भने ।

हालसम्म भूकम्पका कारण रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । ३०९ जना घाइते भएकोमा १७४ जना डिस्चार्ज भइसकेका छन् । घाइतेहरूमध्ये २७ जनालाई थप उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा अहिले २६ जनाको उपचार भइरहेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पले रुकुमपश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ । मानवीय क्षति भने आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भएको छ ।

प्रजिअ पन्तले भूकम्प गएको रातिदेखि नै स्थानीय सरकार, सुरक्षाकर्मी र प्रशासनको समन्वयका खोजी र उद्धारको काम भएको बताएका छन् । मध्यरातको घटना भएकाले खोजी तथा उद्धारमा कठिनाइ भए पनि भूकम्पलगत्तैबाट प्रभावित क्षेत्रमा जिल्लास्थित सुरक्षा निकाय, चिकित्सकसहितको स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलहरू र स्थानीयको सक्रिय सहभागितामा मानवीय खोज तथा उद्धार गरिएको उनले बताए । उनले भने, ‘खोजी र उद्धार सकेर हामी राहत वितरणको चरणमा पुगेका छौँ ।’

खोज तथा उद्धारको कार्यपश्चात् भूकम्प प्रभावित र पीडितलाई राहत वितरण गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट काम गर्न लागेको छ । आइतबारदेखि नै अति प्रभावितहरूका लागि राहत वितरण सुरु भइसकेको प्रशासनले जनाएको छ ।

विपद् व्यवस्थापन राहत सामग्रीहरू स्थानीय तह र वडामा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको समेत प्रजिअ पन्तले जानकारी दिए ।

प्रतिक्रिया