आइतबार, वैशाख २३, २०८१

राज्यव्यवस्थाको निर्देशनपछि प्रहरीले फिर्ता बोलायो समय पुगेका भिआईपीहरूको पिएसओ

उपेन्द्रदेखि गोपालमानसम्मका पिएसओ हटाइए

मेरोन्यूज २०८० कार्तिक १९ गते १५:५४

काठमाडौं । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लिखित पत्र पठाएपछि प्रहरीले समय पुगेका ‘भिआईपी’हरूको सुरक्षार्थ खटिएका प्रहरी अफिसरहरूलाई फिर्ता बोलाएको छ । समिति सभापति रामहरि खतिवडाले समय पुगेका भिआईपीहरूको सुरक्षार्थ खटिएका ‘पिएसओ’ फिर्ता बोलाउन निर्देशनात्मक पत्र पठाएपछि प्रहरीले सुरक्षा अधिकृतहरूलाई फिर्ता बोलाएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डिआईजीपी) कुवेर कडायतले जानकारी दिए ।

Advertisement

‘राज्यव्यवस्था समितिका सभापतिज्यूको समय पुगेका व्यक्तिगत सुरक्षा अधिकृतहरूलाई फिर्ता बोलाउने लिखित पत्र आएपछि प्रहरीले कार्यान्वयन गरेको हो । हामीले संसद्को राज्य व्यवस्था समिति र गृह मन्त्रालयको निर्देशन मान्नैपर्छ,’ प्रवक्ता कडायतले भने ।

कडायतका अनुसार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत समय पुगेका भिआईपीहरूको सुरक्षार्थ खटिएका व्यक्तिगत सुरक्षा अधिकृतलाई फिर्ता बोलाइएको छ । उनले अब गृहले पुनः सुरक्षा समितिको बैठक बसेर संवेदनशीलतालाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा अधिकृत पठाउन निर्देशन दियो भने मात्रै पठाउन सक्ने जानकारी दिए ।

उपेन्द्र असन्तुष्ट
प्रहरीले आफ्नो सुरक्षार्थ खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) फिर्ता बोलाएपछि जसपा अध्यक्ष यादव असन्तुष्ट बनेका छन् । पूर्वउपप्रधानमन्त्री यादवलाई प्रहरीले दुई पिएसओ दिएको थियो ।

तर प्रहरीले कात्तिक १६ गते बिहिबार बिहानबाट उनको पिएसओलाई फिर्ता बोलाएको छ । यादवले आफनो सुरक्षार्थ खटिएका पिएसओ फिर्ता भएपछि सचिवालयमार्फत असन्तुष्टि जनाएका छन् ।

पिएसओ फिर्ता बोलाउने कारणबारे प्रहरीले यादवलाई कुनै जानकारी नगराएको उनको सचिवालयले जनाएको छ । ‘अध्यक्ष यादवको मात्र पिएसओ खोसिएको देखिएको छ, अन्यको त्यसरी खोसिएको सूचना छैन,’ यादवको सचिवालयले भन्यो ।

यादव अहिले सप्तरीमा छन् । शुक्रबारदेखि पार्टीको कार्यक्रममा मधेस केन्द्रित कार्यक्रममा छन् । उनी तिहारसम्म उतै रहने छन् ।

‘शुक्रबार जनकपुर जाने बला देखि नै उहाँसँग पिएसओ छैनन् । भोलिदेखि तीन दिनसम्म लाहानमा पार्टी प्रशिक्षण कार्यक्रम छ, उहाँ त्यसका लागि अहिले मधेसमा हुनुहुन्छ,’ सचिवालयले भन्यो, ‘सरकारले उहाँको मात्र पिएसओ किन फिर्ता लग्यो, बुझन सकिएको छैन । पूर्वउपप्रधानमन्त्री समेत भइसकेका, एउटा पार्टीका केन्द्रीय अध्यक्ष र सांसदसमेत रहनुभएका यादवको पिएसओ खोसिनु आश्चर्यजनक छ ।’

तर, प्रहरीले भने यादवको मात्र नभइ समय पुगेका अन्य भिआईपीहरूको पनि पिएसओ फिर्ता बोलाएको जनाएको छ ।

प्रतिक्रिया