शनिबार, जेठ ५, २०८१

चितवनमा आमाको नामबाट पहिलो नागरिकता

मेरोन्यूज २०८० कार्तिक १४ गते २१:०३


चितवन । चितवनमा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिएको हो ।

Advertisement

मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए । उनका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।

उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उनले बताए । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गरेका हुन् ।

थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताए । स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने उनले बताए । कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको उनले जानकारी दिए ।

श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताइन् । उनले भनिन्, ‘छोरो जन्मिएको एक वर्षपछि छोराको बुबा हराउनुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएन ।’

छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उनले बताइन् ।

प्रतिक्रिया