शुक्रबार, जेठ ४, २०८१

देउवासँगको भेटमा गुटेरेसले राखे नेपालको शान्ति प्रक्रियाबारे चासो

मेरोन्यूज २०८० कार्तिक १२ गते १६:३९

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा शान्ति प्रक्रियाबारे चासो राखेका हुन् ।

Advertisement

अपराह्न नयाँ बानेश्वरमा भएको भेटमा सभापति देउवासँगै नेता शेखर कोइराला कांग्रेसका उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरूङ र परराष्ट्र मन्त्री एनपी साउद पनि सहभागी थिए।

भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत विभिन्न विषयमा चासो राखेका थिए । ‘भेटमा महासचिव गुटेरेसले शान्ति प्रक्रियाबारे चासो राख्नुभयो । अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशलाई पालना गर्नुपर्ने पनि बताउनुभयो,’ भेटमा सहभागी एक नेताले भने ।

आइतबार नै महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्र मन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए।

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले जानकारी दिए ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र अन्य अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया