शुक्रबार, जेठ ४, २०८१

राष्ट्रसंघका महासचिव गुटेरेसले दिए संक्रमणकालीन न्याय टुंग्याउन तीन सुझाव

मेरोन्यूज २०८० कार्तिक १२ गते १५:३६

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन् ।

Advertisement

नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आइतबार पत्रकार सम्मेलनमा अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले भने, ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ । संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।’

पत्रकार सम्मेलनमा गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको बताए । ‘नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो,’ उनले भने, ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो ।’

गुटेरेसले शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको बताए ।

उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए । ‘विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ,’ उनले भने, ‘यस यात्रामा म जलवायु संकटको भयावह प्रभाव आफैं हेर्न हिमालयको भ्रमण गर्नेछु ।’

उनले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको उल्लेख गरे ।

प्रतिक्रिया