शुक्रबार, जेठ ४, २०८१

काभ्रेपलाञ्चोकको कोटथुम्का ओझेलमा

मेरोन्यूज २०८० कार्तिक ११ गते १४:५६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । त्यससँगै गणेश, जुगल, गौरीशङ्कर, लाङटाङलगायत अग्ला हिमशृङ्खलाहरुको दृश्यावलोकन यही स्थानबाट गर्न सकिन्छ ।

Advertisement

काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दूरीमा दुई हजार पाँच सय मिटर उचाइमा उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का विशेषगरी जिल्लामै पर्यटकको मुख्य गन्तव्यको सम्भावना बोकेको स्थान हो । यहाँँबाट सर्वोच्च शिखर सगरमाथालगायत अग्ला हिमशृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिने विषय करिब ९० वर्षअघि देखि नै ओझेलमा परेको बताइन्छ । यहाँबाट संघीय राजधानी काठमाडौँमा ९० वर्षअघि सम्म रहेको १८ तले धरहरा देखिँदासम्म पर्यटकको चहलपल हुने वृद्ध स्थानीयले बताए ।

स्थानीय शिक्षक शालिकराम श्रेष्ठका अनुसार विसं १९९० को भूकम्पपछि धरहराको उचाइ आधा घट्दा यहाँ आउने आन्तरिक पर्यटक पनि घटेका हुन् । त्यतिबेला यही डाँडामा बसेर विशेषतः सगरमाथा र धरहराको चर्चा हुने गर्दथ्यो भने अहिले सगरमाथाको मात्रै । कारण, ९० बर्षअघिको भूकम्पले भत्केको धरहरा आधा घट्दा यहाँबाट देखिँदैन ।

कोटथुम्का वरिपरि ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीलगायत महत्वपूर्ण गन्तव्यहरु प्नि छन् । काभ्रेपलाञ्चोक र सिन्धुको सीमास्थल भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृश्यले त त्यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ । नजिकका जङ्गलमा फागुन–चैत महिनामा ढकमक्क लालीगुराँस फुल्छ, जो यस क्षेत्रको मुख्य सौन्दर्य र आकर्षणको विषय पनि हो ।

“९० सालको भूकम्प जानुभन्दा पहिले यहाँबाट राजधानीमा रहेको १८ तले धरहराको पनि अवलोकन गर्न सकिने भएकाले त्यतिखेर यसकै लागि दैनिक सयौँ मानिसहरु यहाँ आउँथे, त्यसयता धरहराको चर्चा कम हुँदै गएको हो”, श्रेष्ठले भने । उनका अनुसार कोटथुम्कामा केन्द्रीय सरकारले नै थप पर्यटकीय आधारका पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

यसैबीच, अर्थमन्त्री डा प्रकाशशरण महतले गत सोमबार अर्थात् बडादसैँको नवमीका दिन कोटथुम्कामा पुनःनिर्मित श्री उमादेवी माईको मन्दिर र भीमसेन मन्दिरको एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। उनले पनि पछिल्ला केही वर्षयता मण्डनदेउपुरले विकासमा लिएको गतिमा सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले पर्यटकीय स्थानका रुपमा रहेको कोटथुम्काको थप विकास गर्न तथा मण्डनका मुख्य सडक महादेवस्थानदेखि चण्डेनी थुम्का हुँदै हल्देछाप र अर्को पर्यटकीयस्थल दोलालघाट जोड्ने र फेदीदेखि चण्डेनी हुँदै इन्द्रावती जोड्ने सडकलाई पक्की बनाउन सरकारले बजेट छुट्याउने बताएका हुन् ।

तीन देउपुर र चार मण्डन गाभिएर मण्डनदेउपुर नगरपालिका बनेको हो । मण्डनका चार गाविस चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक र ज्याम्दीको मुख्य आकर्षण कोटथुम्काको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कोटथुम्का चिनाएर रमाउन सकिने स्थानीयवासी बताउँछन् ।

स्थानीय सामाजिक कार्यकर्ता रामबहादुर तामाङले भने, “हामी कोटथुम्कालाई पर्यटकीय बनाउन स्थानीय अगुवासँग आवश्यक पूर्वाधारबारे छलफल चलाउँदैछौँ ।” हाल राजमार्गका सडक सञ्चालनसँग जोडिएर यातायात पुगे पनि कच्ची र साँघुरो सडकका कारण सडकमार्फत तथा फाटफुट ‘ट्रेकिङ’समेत गरी उक्त स्थानमा पर्यटक जाने गर्दछन् । धार्मिक दृष्टिकोणबाट पनि महत्व रहेको कोटथुम्कामा अवस्थित उमादेवीको मन्दिर तथा केही तल रहेको कश्यपेश्वर महादेवको मन्दिरको आफ्नै किंवदन्ती छ ।

सत्ययुगमा महादेवले आफ्नी पत्नी सतीदेवीको मृत्युपछि उनका शव बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँमा पुगेपछि सतीदेवीको मुटु पतन भएको र यहाँ उमादेवी र कश्यपेश्वर महादेवको उत्पत्ति भएको कुरा श्री स्वस्थानी कथामा वर्णन गरिएको छ । यहाँको मन्दिरमा ‘बलि’ चढाइएको पशुचौपायाको रगत ६० मिटर तल जङ्गलमा रहेको अर्को मन्दिरमा पुग्ने जनश्रुति पनि रहेको छ ।

धार्मिक महत्व रहेकाले पनि यसको प्रचारप्रसार गर्नु आत्यावश्यक रहेको स्थानीय रमेश खनालले बताए । उनले स्थानीय तहले आफ्ना क्षेत्रलाई पहिचान गरी स्थानविशेष पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । सरकारले पर्यटनलक्षित कार्यक्रम ल्याई यस्ता स्थानबाट आर्थिक उपार्जन गर्न लाग्नुपर्ने उनको तर्क छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ प्रवेश गराउन स्थानीय स्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रियस्तरबाटै पहल गर्न आवश्यक रहेको बताइन्छ । विगत केही वर्षदेखि आन्तरिक पर्यटकका रुपमा केही वनभोज मनाउन आउने गरेका छन् ।

यस्तै, कोटथुम्का नजिकको अर्को पर्यटकीय अग्लो स्थान थानडाँडा, जहाँ खानेपानी र बसोबासको राम्रो सुविधा छ । प्राकृतिक रुपले भरिपूर्ण थानडाँडामा पर्यटकका लागि भ्यू टावरको पनि निर्माण गरिएको छ । नजिकको बस्ती रामपुरनजिकै बुद्धपार्कको पनि निर्माण गरिएको छ । यसले आगामी दिनमा यहाँको पर्यटकीय महत्व बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया