शुक्रबार, जेठ ४, २०८१

एसियाली पारा खेलकुद : दुर्गामान १२औँ स्थानमा

मेरोन्यूज २०८० कार्तिक ८ गते २१:४१

काठमाडौं । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा बुधबार समग्रमा १२औँ भएका छन् । पावर लिफ्टिङमा सहभागी १२ मध्ये दुर्गा अन्तिम स्थानमा रहे ।

Advertisement

चीनको हाङझाउस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । दोस्रो र तेस्रो लिफ्टमा उनले समान ९१/९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर, सफल भएनन् ।

दुर्गाको चुनौती पनि समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । नेपालबाट पावर लिफ्टिङमा दुई पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्तीमगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

एथलेटिक्स
एथलेटिक्सको पुरुष टी–४७ क्याटगोरीको १०० मिटर दौडको आफ्नो हिटमा नेपालका साङबु भोटे बुधबार सातौँ भएका छन् । उनले निर्धारित दूरी १६.५७ सेकेन्डमा पूरा गरे । उनको हिटमा सातै खेलाडी सहभागी थिए ।

एचएससी रंगशालामा भएको उक्त स्पर्धाको दुई हिटमा जम्मा १४ खेलाडी सहभागी थिए । साङबु समग्रमा १३औँ भए । उक्त नतिजासँगै साङबु फाइनल चरणलाई छनोट भएनन् । हिटमा भारतका दिलीप महादु गाभिट ‘डिस्क्वालिफाई’ भएका थिए ।

पौडी
पौडीको एस–९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलको आफ्नो तेस्रो हिटमा नेपालका भीमबहादुर कुमाल बुधबार अन्तिम छैटौँ स्थानमा रहे । उनले निर्धारित दूरी तय गर्न ३५.४९ सेकेन्ड समय खर्चिए ।

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको उक्त स्पर्धामा तीन हिट भएको थियो । तीनै हिटको नतिजा सार्वजनिक हुँदा भीम समग्रमा १६औँ स्थानमा रहँदै फाइनललाई छनोट हुन सकेनन् । अन्तिम स्थानमा रहेका बंगलादेशका रहमान नफियुर खन्दाकर १७औँ भए ।

प्रतिक्रिया