बिहीबार, वैशाख २०, २०८१

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

मेरोन्यूज २०८० कार्तिक १ गते ७:३२

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै बिश्वासको मत लिन लागेका हुन् । कार्की असोज २७ गते मात्रै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

उनलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।

प्रतिक्रिया