शनिबार, जेठ ५, २०८१

भेपमा सुन तस्करीसम्बन्धी प्रतिवेदन सरकारी वकिलले फर्कायो सीआईबीलाई

मेरोन्यूज २०८० असोज २३ गते १९:३७

काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्नु भन्दै अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई फिर्ता पठाएको छ।

Advertisement

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूको थप बयान गर्नुपर्ने देखिएकाले सीआईबीलाई फाइल फिर्ता पठाइएको जानकारी दिएको छ । थप बयान लिएर अनुसन्धान पूरा गर्ने निर्देशनसहित फाइल असोज २२ गते सोमबार सीआईबीलाई फिर्ता पठाइएको एक अधिकृतले जानकारी दिए ।

सीआईबीले तस्करीमा मुछिएका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिए पनि अभियुक्त बनाएको थिएन ।

महराका छोरा राहुलसहित दावा छिरिङ, लोकेन्द्र पौडेल र निमा गुरुङलाई संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित सीआईबीले असोज १९ गते अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा पेस गरेको थियो।

अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा अपुरो देखिएकाले थप केही बुदाँमा स्पष्ट पार्नु भनी पठाइएको ती अधिकृतले बताए । ‘थप बयान गर्न आएको हो। आज आएको हो भोलि पुनः पेस गर्छौं’ सीआईबीका यो प्रकरण अनुसन्धान गरेका एक अधिकृतले भने ।

प्रतिवादी बनाउन राय दिइएका दावा यसअघि हङकङबाट आएको ६० किलो बढी सुन तस्करीमा नेपालस्थित व्यवस्थापक रहेका अभियोग पुर्पक्षका लागि थुनामा छन्। लोकेन्द्र चिनियाँ तस्कर समूहको सहयोगीको भूमिकामा देखिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

निमा भने फरार छन्।

प्रतिक्रिया