शनिबार, मंसिर १६, २०८०

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई भन्यो : धार्मिक-सास्कृतिक द्वन्द्व देखा पर्‍यो गम्भीर हुनुस्

मेरोन्यूज २०८० असोज १३ गते २०:०२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई मुलुकमा धार्मिक–सांस्कृतिक द्वन्द्व देखापरेको भन्दै गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व देखापरेको भन्दै गम्भीर हुन आग्रह गरेको हो ।

मुलुकको आर्थिक मन्दीका कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

‘जनतामा ब्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवान्छित तत्वहरु हाम्रो समाजमा जातीय, धार्मिक–साँस्कृतिक द्वन्द्व मच्चाउने समेत लागि परेका छन्,’ एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा लेखिएको छ ।

देशमा देखिएका संकटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने एकीकृत समाजवादी पत्रमा उल्लेख गरेको छ । ‘अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं,’ अध्यक्ष नेपालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ ।

श्रमजीवी, मजदुर तथा गरिबको जीवन कष्टकर हुँदै गएको भन्दै एकीकृत समाजवादीले उद्योगी व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्न नसकेर निराशा थपिएको पनि दाबी गरेको छ ।

प्रतिक्रिया