शनिबार, मंसिर १६, २०८०

बाख्राले बाली खाएको निहुँमा खुर्पा प्रहार गरेर हत्या

मेरोन्यूज २०८० असोज १३ गते १९:३०

धादिङ । धादिङमा बाख्राले बाली खाएको रिसमा एक जनाले वृद्धामाथि खुर्पा प्रहार गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको नेत्रावती गाउँपालिका ४ हल्दारेकी ७२ वर्षीया सुकमाया गुरूङमाथि खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३६ वर्षीय मंगल गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगी अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

साथै थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपितले बयान दिएका छन् ।

प्रतिक्रिया