१३ वर्षपछि पक्राउ परे डा. भक्तमान श्रेष्ठ अपहरण गर्ने तामाङ

काठमाडौँ । बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गर्ने नुवाकोट जिल्ला विदुर नगरपालिका– १२ चारघरेका ३९ वर्षीय लुप्पा भनिने सुब्बा तामाङ पक्राउ परेका छन् ।
तामाङलाई प्रहरीले १३ वर्षपछि शनिबार गाउँमै आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक पुष्प दर्लामीले जानकारी दिए।
प्रहरीले तामाङ आइतबार नुवाकोट जिल्ला अदालतमा पेश गरेको छ । अदालतले कैद सजायको लागि कारागार चलान गर्न आदेश दिएको छ।
चितवन जिल्ला अदालतको ०६९ जेठ २४ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक कसुरमा तामाङलाई दोषी ठहर गर्दैै १३ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो।
०६७ जेठ ४ गते राती २२ः१५ बजे क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक ४८ वर्षीय डा. श्रेष्ठ चितवन अस्पतालबाट हिमचुली विकास बैँक नजिकको मोडमा रहेको क्वाटरतर्फ जाने क्रममा भीमसेन पण्डित, रोहित पलिवाल, बद्रीप्रसाद ढुंगाना, सुनिल श्रेष्ठ, नवीन क्षेत्री, लुप्पा तामाङ भनिने सुब्बा तामाङ र गौतम योञ्जनसहितले अपहरण गरी नुवाकोट, काठमाडौं र धादिङका विभिन्न स्थानमा राखेका थिए।
अपहरणकारीको समूहले पिडित परिवारलाई ईन्टरनेट तथा कल बाइपास प्रविधिको प्रयोग गरी साढे तीन किलो सुन फिरौती मागेको थियो।
नेपाल तथा भारतमा बराबर बसोबास गर्ने रोहित पलिवाल अग्रवालले भारतबाट २०६७ जेठ ५ गते राती पिडित परिवारलाई ईन्टरनेट तथा कल बाइपास प्रविधिको प्रयोग गरी फिरौतीको लागि साढे तीन किलो सुन बार्गेनिङ गरेकोमा मिति
२०६७ जेठ १९ गते अपहरितबाट फिरौतीवापतको सुन भारतको कानपुर आसपासको इलाकामा प्राप्त गरेपश्चात सो समूहले जेठ २२ गते बिहान २ः३० बजे डा. श्रेष्ठलाई धादिङको मझिमटारमा छाडिदिएका थिए।
प्रतिक्रिया