शनिबार, मंसिर १६, २०८०

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

मेरोन्यूज २०८० असोज ७ गते १३:५३

काठमाडौं । बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय टंगालले आइतबार विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मा।वि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका थिए।

अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीलाई स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम भुक्तानी दिएको खुलेको हो। परिणामभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकमको हानिनोक्सानी भएको अख्तियारले जनाएको छ।

यस्तै जनता मावि भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको र नगरपालिकासँग भएको सम्झौता बमोजिम शर्त पालना नगरी स्वीकृत भएकोभन्दा बढी रकम भुक्तानी लिएको अख्तियारले ठहर गरेको छ।

यसरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो रकम कायम गरी कैद सजायको मागदाबी समेत गरेको छ।

प्रतिक्रिया