राजदूतको प्रेस्क्रिप्सन बिनाको औषधिले माओवादी नेता दिपशिखा कोरियाली अध्यागमनको फन्दामा

काठमाडौं । कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले डक्टरको प्रेस्क्रिप्सनबिना मगाएको औषधि लगिदिएका कारण नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ कोरियाली अध्यागमनको फन्दामा परेका छन् ।
गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली अध्यागमन र प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
कोरियाली राजदूतावासले भने दिपशिखा अध्यागमनमा रोकिएको समस्या समाधान हुने क्रममा रहेको बताएको छ।
मंगलबार दिउँसो एक प्रेस नोट जारी गर्दै दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ।
‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको जानकारी गराइएको छ,’ प्रेस नोटमा लेखिएको छ।
एन्जाइटीको समस्या भएकी राजदूत प्याकुरेलले पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी थिइन् । उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन।
इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले अध्यागमनमा रोकेका थिए । दूतावासले अनुरोध गरेपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाए पनि उनको अनुसन्धान अझै सकिएको छैन।
अनुसन्धान नसकिएसम्म दीपशिखाले कोरिया छोड्न पाउने छैनन्।

प्रतिक्रिया