सोमबार, असोज १५, २०८०

भारतले ८औं पटक जित्यो एसिया कप क्रिकेटको उपाधि

मेरोन्यूज २०८० भदौ ३१ गते १८:२८

काठमाडौं । भारतले ८औं पटक एसिया कपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतका ओपनर ब्याट्सम्यानद्वय इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाएर भेट्टाए ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अलआउट भएको थियो । भारतका मोहम्मद सिराजले ६, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।

पहिलो ओभरमै जसप्रित बुमराहले कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।

सिराजले पहिलो बलमा पथुम निसानका, तेस्रो बलमा सदिरा समराविक्रमा, चौथो बलमा चरिथा असलंका र छैटौं बलमा धनन्जय डा शिल्भालाई आउट गरे ।

खेलको छैटौं ओभरमा सिराजले श्रीलंकाका कप्तान दसुन सनाकालाई बोल्ड गर्दै करियरमै ओडीआई खेलमा पहिलो पाँच विकेट लिए । त्यतिबेलासम्म श्रीलंकाले १२ रन बनाउदा नै ६ विकेट गुमाइसकेको थियो ।

प्रतिक्रिया