आइतबार, वैशाख २३, २०८१

एमाले बागमती प्रदेश अधिवेशन : लोहनी, बस्नेत र पोखरेल प्रतिनिधि नै बनेनन्

मेरोन्यूज २०८० भदौ ३१ गते २०:०८

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षको चर्चामा रहेका तीन नेता अधिवेशन प्रतिनिधि नै बनेनन् । धादिङका डा. खेम लोहनी, भक्तपुरका महेश बस्नेत र दोलखाका आनन्द पोखरेल प्रदेश अधिवेशनका लागि महाधिवेशन प्रतिनिधि नै नबनेका हुन् ।

Advertisement

धेरै नेता– कार्यकर्ताले महासचिव शंकर पोखरेलको जोडबलमा धादिङका डा लोहनी र कार्यकारी हुने हुँदा पोलिटब्यूरोबाट महेश बस्नेत र आनन्द पोखरेल प्रदेश अध्यक्षमा जानसक्ने चर्चा एमाले वृत्तमा चलाएका थिए । उनीहरुले पनि पार्टी नेतृत्वलाई मनाएर सहमतिमा आफु प्रदेश अध्यक्ष हुन जान खोजेका थिए । तर सहमतिमा उनीहरुले चाहेजस्तो नहुने देखेपछि उनीहरु आफै पछि हटेका छन् ।

जसकाकारण उनीहरुले अधिवेशन प्रतिनिधि नै हुन चाहेनन ।

केन्द्रीय समिति, पोलिटब्यूरो या प्रदेश समितिकै भएपनि प्रदेशका बाहालवाला अध्यक्ष र सचिव बाहेक सवै अधिवेशनका लागि तलबाटै प्रतिनिधि बनेर आउनुपर्ने हुन्थ्यो । बस्नेत, लोहनी र पोखरेल प्रतिनिधि नै नबनेपछि अब उनीहरु प्रदेश अध्यक्षको रेसबाट बाहिरिएका छन् ।
लुम्बिनी प्रदेश अधिवेशनमा पार्टी नेतृत्वले सहमति खोज्न भनेपनि सहमति नजुटेपछि निर्वाचनबाट अध्यक्ष लगायत पदाधिकारी चयन गरेपछि बागमतीमा अब करिव मतदानबाटै नेतृत्व चयन हुने देखिएको छ । त्यहीकारण रेसमा रहेका नेताहरु आफै केहीले मैदान छोडेका हुन् ।

आफै अध्यक्ष हुने मैदान छोडेपनि उनीहरु अधिवेशनलाई प्रभाव पार्नसक्ने हैसियतमा भने हुने एमाले नेताहरुको तर्क छ । लुम्बिनीमा जस्तै बागमतीमा पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अगाडी सार्ने उम्मेदवारकै बीचमा प्रतिस्पर्धा हुने सम्भाबना देखिएको एक नेताले मेरोन्यूजलाई बताए ।

लुम्बिनीमा पोखरेल र पौडेलनिकटका नेताहरुले समुह नै बनाएर चुनावी प्रतिस्पर्धा गरेपछि देशभर यो टिम कित्ताबन्दी हुने अनुमान गरिएको थियो । तर पौडेल र पोखरेलले नै केपी ओलीको अगाडी कित्ताबन्दी गरेर जाने हिक्मत नदेखाएपछि अन्यत्र प्रदेशमा भने स्थानीय स्तरमा मात्रै नेताहरुको कित्ताबन्दी हुने देखिएको हो । त्यसक्रममा बागमतीमा भने महासचिव पोखरेल र उपाध्यक्ष पौडेलकी बीचमा नेताहरु भित्री टिम बनाएर प्रतिस्पर्धामा उत्रन सक्ने सम्भाबना देखिएको छ ।


लोहनी, बस्नेत र पोखरेल अधिवेशन प्रतिनिधि नै नबनेपछि एमाले बागमतीको नेतृत्व हत्याउनका लागि आकांक्षीको संख्या खुम्चिएको छ । नत्र आधा दर्जन बढीले प्रदेश अध्यक्ष बन्न चाहेका थिए । लोहनी, बस्नेत र पोखरेल प्रतिनिधि नै नबनेपछि अब प्रदेश अध्यक्षका लागि हालका अध्यक्ष केशवराज पाण्डे, कृष्णप्रसाद दाहाल तथा कैलाश ढुंगेल बीचमा प्रतिस्पर्धा हुनसक्ने बताइएको छ । त्यसमा यदाकदा चितवनका कृष्णभक्त पोखरेल पनि रेसमा छन् ।


पाण्डे हालका अध्यक्ष हुन् भने दाहाल र ढुंगेल भने एमालेको केन्द्रीय सदस्य हुन् । पाण्डे नुवाकोटबाट, दाहाल मकवानपुरबाट र ढुंगेल रामेछापबाट प्रतिनिधि चुनिएका छन । पाण्डे र ढुंगेल बागमति प्रदेशका पूर्वमन्त्री हुन भने दाहाल प्रतिनिधिसभाका पूर्व सदस्य हुन । एमालेको बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदैछ ।

प्रदेश अध्यक्ष दिए चितवनका विजय सुवेदी र कृष्णभक्त पोखरेलले पनि चासो देखाएका थिए । अहिले उनीहरु पनि आफुले नपाउने र नजित्ने अवस्था देखेपछि अन्यौलमा बसिरहेका छन् । चितवनकै दुईमध्ये सुवेदीलाइृ शान्त राखेर पोखरेललाई भने अगाडी सार्नुपर्ने केही नेताहरुको मत छ । पार्टीमा कानुनी पृष्ठभूमिका सुवास नेम्वाङको निधनपछि पोखरेलले नै बढी लिडिङ गर्न सक्ने भएकोले केन्द्रीय समितिमा समेत नरहेको र अहिले सांसद पनि नभएका कृष्णभक्त पोखरेललाई बागमतिबाट अगाडी सारेर ल्याउनुपर्ने मत पनि एमालेवृत्तमा छ ।


तर उनलाई सहज प्रदेश अध्यक्ष स्वीकार गरिहाल्ने अवस्था एमालेभित्र छैन । केशव पाण्डे, कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल अहिले बढी लविङमा छन् । त्यसमध्ये पनि दुई जनाको मात्र चुनावी प्रतिस्पर्धा गराउने प्रयास पनि एमालेमा जारी छ । त्यसो भएमा र दुई जनामात्रै उम्मेदवार बन्ने अवस्था आएमा नुवाकोटका हालका अध्यक्ष केशव पाण्डे र मकवानपुरका कृष्ण दाहालका बीचमा प्रतिस्पर्धा हुने सम्भाबना रहेको नेताहरुको भनाई छ । तर कैलाश ढुंगेल सितिमिति चुप बस्लान् भन्ने अवस्था नरहेको पनि एमाले नेताहरु नै चर्चा गर्छन् । अझै दुई जनाको प्रतिस्पर्धाका बीचबाट आफु आउने दाउमा उनी लागिरहेको एमाले नेताहरु बताउँछन् ।

यहाँ महासचिव पोखलेरलले हालका अध्यक्ष केशव पाण्डेलाई र विष्णु पौडेलले कैलाश ढुंगेल या कृष्ण दाहालमध्येबाट अगाडी सार्नसक्ने सम्भाबना रहेको नेताहरु बताउँछन् । बागमतीमा पनि महासचिव भर्सेज उपाध्यक्षका बीचमा प्रतिस्पर्धा हुने गरि समिकरण बन्ने कोसिस भईरहेको एमाले नेताहरुको बीचमा चर्चा छ ।

अधिवेशनका लागि एमालेले अहिले धमाधम प्रतिनिधि चयन गरिरहेको छ । २७ भदौंभित्रै अधिवेशन प्रतिनिधि चयन गरिसक्ने बताएपनि उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण उसले अझै पनि केही ठाँउमा अधिवेशन प्रतिनिधि चयन गर्न बाँकी नै छ ।

प्रतिक्रिया