सोमबार, वैशाख २४, २०८१

कोशीमा सरकार जोगाउन एमालेको तीन विकल्प

यथास्थितीमा विश्वासको मत नपाउने देखिएकोले सत्ता समीकरणका लागि दलहरु आ-आफ्नो रणनीति बनाउन ब्यस्त छन्

मेरोन्यूज २०८० भदौ ३१ गते ८:०८

विराटनगर । कोशीमा सरकार अदल बदलको खेल जारी छ । एमालेका हिक्मत कार्की नेतृत्वमा बनेको सरकारको रोटेपिङ फेरि उनकै काँधमाथी आईपुगेको छ । कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्दव थापाले सरकारको नेतृत्व सम्हालेका थिए । तर उनको सरकारलाई दुई दुई पटक सम्म सर्वाेच्च अदालतले असम्वैधानिक ठहर गदै खारेज गरिदिएपछि सरकारको रोटेपिङ फेरि एमालेका हिक्मत कार्कीकै काँधमा आईपुगेको हो ।

Advertisement

यसपटक कार्की प्रदेश सभाको सवैभन्दा ठूलो दलको हैसियतमा सर्वाेच्चको परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेका छन् । उनी भदौं २२ मा अदालतको परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेका छन् । उनले आगामी असोज २० भित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमाले राप्रपा गठबन्धन र अन्य इतर समुह (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा)को गठबन्धन कायमै रहने र एकले अर्काको गठबन्धन टुक्राउन नसकेको अवस्थामा एउटा सांसदका कारण कोशीको सरकार रोटेपिङमै घुमिरहेको हो । जुन अवस्था अहिले पनि यथावत नै छ । यही अवस्था कायम रहादा फेरि पनि एमालेका हिक्मत कार्कीले पनि सदनमा विश्वासको मत पाउने अवस्था छैन ।


संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका एमाले नेता कार्कीले असोज २० गतेभित्र उक्त धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिनै पर्ने बाध्यात्मक अवस्था छ । त्यसो हुन नसकेमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश सभामा जसले विश्वासको मत पाउन सक्छ भन्ने आधार देखाउन सक्छ, उसैको नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था छ । त्यसरी बनेको सरकारले पनि फेरि महिना दिनमा विश्वासको मत पाउन नसके प्रदेश सभा मध्यावधीमा धकेलिने छ ।
मध्यावधीमा जान नदिन अहिलेसम्म कुनै पनि दल लचक देखिएका छैनन ।

सकभर आफु नेतृत्वको सरकार जोगाउने र मध्यावधीमा जान नदिनका लागि एमालेका दल नेता समेत रहेका मुख्यमन्त्री कार्कीले अहिले सरकार टिकाउने तीन विकल्पमा छलफल थालेको एमाले नेताहरुले बताएका छन् ।

हिक्मत कार्कीका यी हुन् तीन विकल्प ?

एमालेले राप्रपालाई साथ लिएपनि प्रदेश सभामा बहुमत जुटाउन सक्ने अवस्था छैन । उसका लागि संसदको सवैभन्दा ठूलो दल भएपनि राप्रपालाई साथ लिँदा पनि एउटा सांसद अपुग भएपछि के गर्ने भन्ने भाउतो आईलागेको छ । सभामुख पद त कोशीमा अहिले कुनै पनि दललाई चाहिएकै छैन ।


सभामुख पद फालाफाल नै छ । कार्कीले सरकार जोगाउनका लागि अहिले मुख्यत कांग्रेसलाई फकाउन थालेका छन् । आफनो नेतृत्वमा स्थायी सरकारका लागि कांग्रेसलाई उनले फकाउन थालेका हुन् । तर सितिमिति कांग्रेस यथास्थितीमा फक्किने सम्भाबना भने नरहेको नेताहरुको भनाई छ ।


कार्कीले भने सरकार टिकाउन पहिले कांग्रेस र एमालेको, दोस्रो एमाले र माओवादीको, तेस्रो एकीकृत समाजवादी, राप्रपा र एमालेको सरकार गठन गर्ने रणनीति अनुसारको काम गरिरहेका छन् ।


यी तीन वटा विकल्प असफल भएको अवस्थामा कांग्रेस वा माओवादीका आवश्यक प्रदेश सांसदको साथ लिएर सरकार बनाउने अन्तिम प्रयास गर्ने दाउ पनि एमालेको रहेको एमालेका नेताहरु बताउँछन् ।


‘हामी सवै विकल्पमा खुल्ला भएर कोसिसमा जुटेका छौं,’ एमालेका कोशी प्रदेशका एक सांसदले मेरोन्यूजलाई बताए ।

प्रतिक्रिया