मंगलबार, जेठ १, २०८१

अमेरिका भ्रमण टोली काँटछाँट गर्दै प्रधानमन्त्री

दुई दर्जनको भ्रमण टोली बनाउन सचिवालयले प्रयास गरेपनि आधा दर्जनमा मात्रै सिमित गर्ने प्रधानमन्त्रीको तयारी

शितल शर्मा २०८० भदौ २५ गते १२:५०

काठमार्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसैसाता गर्न लागेको अमेरिका र त्यसलगत्तैको चीन भ्रमणको भ्रमण टोली सानो आकारको बनाउने तयारी थालेका छन् । प्रधानमन्त्रीले झण्डै दुई दर्जन बढीलाई भ्रमण टोलीमा शुरुमा समावेश गर्ने तयारी गरेपनि अहिले भने आधा दर्जनलाई मात्र समेटेर सानो आकारको भ्रमण टोली बनाउन लागेका हुन् ।

Advertisement

त्यसका लागि उनले आज या भोलिसम्ममा भ्रमण टोलीको नाम अन्तिम टुंग्गो लगाउने तयारी गरेका छन् । सुरुमा २७ जनासम्म भ्रमण टोलीमा समावेश गर्ने गरि प्रधानमन्त्रीको निजी सचिवालयले तयारी गरेको थियो । तर भष्टाचार र सुशासनका क्षत्रेमा काम गरेको सन्देश दिन चाहिरहेका प्रधानमन्त्रीलेनै आफनो भ्रमण टोलीमा दुई दर्जन बढीलाई लग्दा त्यसको सन्देश राम्रो नजाने देखेपछि भ्रमण टोली सानो बनाउने तयारी थालिएको हो ।

परराष्ट्रले भने २४ सदस्यीय टोली अमेरिका जाने गरि तय गरेको थियो । त्यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट मात्रै १० जना हुने गरि तयारी थियो ।

स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने गरी तयारी थियो ।

यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा जाने गरि तयारी छ ।

यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने बताइएको थियो । अब प्रधानमन्त्रीले सानो टिम बनाउन गरेको आग्रहका आधारमा यी मध्ये कति पर्छन् भन्ने टुग्गो लागेको छैन । ‘सकभर सानो बनाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने ।

भ्रमण टोली छोट्याउँदा अब प्रधानमन्त्री, प्रधानमन्त्रीका छोरी तथा स्वकिय सचिव गंगा दाहाल, सुरक्षा स्टाफ (पिएसओ), परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र प्रधानमन्त्रीका फोटो पत्रकारलाई मात्र समेटेर ५/६ जनासम्मको मात्र भ्रमण टोली बनाउने गरि प्रधानमन्त्रीको सचिवालयले भित्री तयारी थालेको स्रोतको भनाई छ । प्रधानमन्त्री स्वयमले अहिले सानो आकारको टोली मात्रै बनाउन सचिवालयलाई निर्देशन गरिसकेको स्रोतको भनाई छ । यसो हुँदा प्रधानमन्त्री आफै भ्रमण टोलीको नाम काटछाँटमा लागेको बालुवाटार स्रोतले बताएको छ ।

यस अगाडी प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति लगायत केही निजी सञ्चारमाध्यमका पत्रकार समेत गरि अमेरिका भ्रमण टोलीमा २७ जना सम्मको भ्रमण टोली बनाउने तयारी थियो । तर अब ती नाममा ब्यापक कटौती हुन लागेको बालुवाटार स्रोतले जनाएको छ ।


‘भ्रमण टोली छोट्याउँदा कति जना सम्मको बनाउने या ६ जनामा थप दुई जना सम्म बढाउने की भन्ने गरि छलफल छ,’ प्रधानमन्त्रीको सचिवालयल स्रोतले भन्यो, ‘थपिदाँ पनि दुई तीन जना बढीमा थपिएर १० जना भन्दा सानो आकारकै टिम बन्छ, त्यो भन्दा बढीको टिम बन्दैन ।’

प्रधानमन्त्री प्रचण्ड भदौं ३० मा संयुक्त राष्ट्रसंघको साधारणसभामा हसभागी हुनका लागि अमेरिकाको न्यूयोर्क र असोज ४ मा राष्ट्रसंघको महासभालाई सम्वोधन गरेलगत्तै नेपालको उत्तरी छिमेकी मुलुक चीनको राजधानी वेइजिङ भ्रमणमा जाने गरि कार्यकतालिका बनेको छ ।

प्रधानमन्त्रीका यी दुई शक्तिशाली राष्ट्रको भ्रमण कार्यतालिका मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।

प्रधानमन्त्रीसँग जाने यही टोली प्रधानमन्त्रीसँगै चीन भ्रमणमा पनि हुनेछन् । चीनमा यतैबाट अमेरिका नगई सिधै थप टोली पनि पठाउने या के गर्ने भन्नेमा पनि प्रधानमन्त्रीको सचिवालय छलफलमा छ । तर यसबारेमा भने कुनै निश्कर्ष निस्केको छैन । यधपी, चीन भ्रमण टोली पनि सानो आकारकै हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया