शुक्रबार, जेठ ४, २०८१

ललिता निवास र सुन प्रकरणमा मुछिएका सहसचिवद्वय अधिकारी र वैद्य सामान्यको अतिरिक्त समूहमा सरुवा

गृह मन्त्रालयले दाङको प्रजिअबाट तानेका वैद्य र अध्यागमनको महानिर्देशकबाट तानेका अधिकारी गृहमन्त्री श्रेष्ठका विश्वासपात्रका रूपमा चिनिन्थे

मेरोन्यूज २०८० भदौ १९ गते १७:३१

काठमाडौँ । गृह मन्त्रालयमा रहेका दुई सहसचिव फरक–फरक प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगेका छन् । सरकारले विभिन्न ५८ सहसचिवको सरुवा गर्दा गृह मन्त्रालयमा रहेका र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमा विश्वासपात्रका रुपमा चिनिने दुई सहसचिव सामान्य प्रशासनको अतिरिक्त समूहमा पुगेका हुन् ।

Advertisement

पहिल्लो समय दाङको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा तानिएका सुशील बैद्य र अध्यागमन विभागको महानिर्देशकबाट मन्त्रालय तानिएका झलकराम अधिकारीलाई सामान्यको अतिरिक्त समूहमा सरुवा गरिएको हो ।

वैद्य ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका छन् । वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको प्रतिवेदनमा उल्लेख छ। उनलाई सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दायर गर्दा प्रतिवादी बनाएको छ ।

त्यस्तै अध्यागमन विभागको महानिर्देशकबाट मन्त्रालय तानिएका अधिकारीको सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेको थियो । अधिकारी गृहमन्त्री श्रेष्ठका विश्वासपात्र हुन् ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

प्रतिक्रिया