शनिबार, जेठ ५, २०८१

एकीकृत समाजवादीमा निरन्तर पहिरो : केन्द्रीय समितिकै ७ प्रतिशत नेता एमाले फर्किए (तथ्यांकसहित)

प्रदेशको तुलनामा केन्द्रीय समिति र जिल्ला समितिका नेताहरुले पार्टी छोड्ने लहर

शित्तल शर्मा २०८० भदौ १३ गते १३:४२

काठमाडौं । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य समिना हुसेनले भदौं ११ मा पार्टी छोडिन् । पार्टी छोड्ने क्रममा हुसेनले माधव नेपालले मात्रै होइन, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मले अब आफैले अहिले नेतृत्व गरिरहेको पार्टी हाक्न नसक्ने निश्कर्ष सुनाइन् ।

Advertisement

त्यसपछि उनी प्रभु साहले भर्खरै बनाउँदै गरेको आम जनता पार्टी रोजिन् । साहले पनि पूर्व सांसद हुसेनलाई माला लगाएर पार्टीमा स्वागत मात्रै गरेनन्, केन्द्रीय सदस्यसम्म एकैपटक बनाईदिए ।
एकीकृत समाजवादी छोडने नेताहरुको सूचीको उनी त केन्द्रीय समितिका पछिल्लो उदाहरण मात्र हुन् । यस अगाडी नै वरिष्ठ नेता मुकुन्द आचार्य, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, केन्द्रीय सदस्यहरु यदुवंश झा, डिल्लीप्रसाद उप्रेती, सुभाष कर्माचार्य, हिराचन्द्र केसी, शारदा स्वर्णकार, चुडामणि जंगली, बालकृष्ण चापागाई लगायतका झण्डै ३५ भन्दा बढी एकीकृत समाजवादीका केन्द्रीय सदस्यले पार्टी छोडिसकेका छन् ।
नेकपा एमालेबाट विद्रोह गरेर २०७८ भदौं ९ मा माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । एमाले र माओवादी केन्द्रका बीचमा भएको पार्टी एकता नजोगिदाँ र केपी ओलीले पार्टीभित्र एकलौटी स्वेच्छाचारि ढंगले पार्टी सञ्चालन गर्दा कम्युनिष्ट आन्दोलन नै संकटमा परेको भन्दै नेपाल, खनाल लगायतका नेताहरुले एमालेबाट विद्रोह गरेका थिए ।

त्यसबेला विद्रोह गर्ने नेताहरु समेत अहिले पार्टी सञ्चालन तौरतरिका र पार्टीको निरन्तर ओरालो लागिरहेको यात्राले निरास छन् । पार्टीभित्र सम्मानित नेताको हैसियतमा रहेका झलनाथ खनालले अध्यक्ष माधव नेपालसँग बैचारिक राजनीतिक विषयमै विमति राख्न थालिसकेका छन् ।
पार्टी विभाजनका बेला माधव नेपाललाई काँधमा काँध र हातमा हात थामेर अगाडी बढेकी सचिव रामकुमारी झाँक्रीहरुसमेत पार्टीमा बोल्नै नपाएको, जिम्मेवारी समेत नपाएको गुनासो गदै असन्तुष्टि पोखिरहेकी छिन् ।

अध्यक्ष माधव नेपाल स्वंयमले पार्टी चाहे जसरी अगाडी बढ्न नसकेको स्वीकारेका छन् । पार्टी स्थापनाको दुई वर्षमा संघ देखि प्रदेश सभासम्मै सानो सङ्ख्यामा भए पनि एकीकृत समाजवादीका सांसदहरु छन् । तर उसले चुनावबाट राष्ट्रिय दलको मान्यता भने पाउन सकेन ।
अध्यक्ष नेपालले भदौं ५ देखि ७ सम्म बसेको केन्द्र्रीय कमिटीको छैटौँ बैठकमा पेश गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा पनि पार्टी चाहे जसरी अगाडि बढ्न नसकेको स्वीकारेका छन् ।

‘पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्कृयता, पलायनता जस्ता कमजोरी देखिएका छन् । यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन् । सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो । त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् । यदि कसैबाट अझैं पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुरुन्त रोकिनु पर्दछ,’ नेपालले केन्द्रीय समितिमा पेश गरेको दस्तावेजमा भनिएको छ-‘त्यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन सकिदैन । साथै, पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी; जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्ति; आत्मविश्वासको कमी; पार्टी सानो छ भन्ने लघुताभाष; प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि; विरोधीले फैलाएका भ्रम र सामाजिक सञ्जालमार्पmत भएका कुप्रचारको प्रभाव; हाम्रो प्रचार कार्य कम्जोर हुनु आदि अन्य कारण हुन् ।’

पलायन : केन्द्र र जिल्लामा ह्वात्तै
एकीकृत समाजवादीभित्र पार्टी विभाजनको औचित्यता पुष्टि भए/नभएकोमै नेताहरुबीच मत बाझिन थालेको छ । पार्टीले वर्ग शत्रु किटान नगरी कांग्रेस र माओवादीको पिछलग्गू भएर हिँड्न थालेको र यसबाट अब भविष्य नदेखिएको भन्दै नेतृत्व तहबाटै पार्टी छोडने लहर चलेको छ । यो पहिरो प्रदेश कमिटिको तुलनामा केन्द्र र जिल्लामै बढी देखिएको नेकपा एकीकृत समाजवादीका एक पदाधिकारीले मेरोन्यूजलाई बताए ।

अध्यक्ष नेपाल स्वंयमले ०७९ जेठ, ०७९ माघ र ०८० भदौंमा केन्द्रीय कमिटिमै पेश गरेको संगठनात्मक प्रतिवेदनको डाटा विश्लेषण गर्दा पनि पार्टीमा निरन्तर पहिरो जान थालेको देखिएको ती पदाधिकारीले बताए । त्यस्तो पहिरो केन्द्रीय समितिमै अध्यक्ष नेपालको प्रतिवेदनका आधारमा २०७९ जेठको तुलनामा अहिले २४ जना र २०७९ माघको तुलनामा अहिले २८ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादी छोडिसकेका छन् ।


तर केन्द्रीय समितिबाटै यो भन्दा धेरैले पार्टी छोडिसकेको नेताहरुकै पनि भनाई छ । ‘पार्टी निर्माणयता सरदर केन्द्रीय समितिबाटै कम्तीमा ३५/३६ जना नेताहरुले पार्टी छोडिसके होलान्, त्यसमध्येका एकाध बाहेक सबै पूरानै घर एमालेमा फर्किएका छन्,’ एकीकृत समाजवादीका ती पदाधिकारीले भने ।

हेर्नुहोस् माधव नेपालले पेश गरेको तथ्यांकको विवरण

माधव नेपालले पार्टीभित्रको पलायन नदेखियोस् भनेर आफना दस्तावेजमा चलाखी भने गरेका छन् । उनले कहिले केन्द्रीय विभाग, कहिले प्रदेशको तथ्यांक र कहिले जिल्लाको प्रदेशभरीको तथ्यांक नसमेटेर फरक ढंगले प्रस्तुत गरेका छन् । यसले समग्र डाटा नदेखियोस्, र पलायनको क्रम पार्टी नेता कार्यकर्तामा नबढोस् भनेर चलाखी अपनाएको हुनसक्ने देखिन्छ,’ ती नेताले भने ।

यी हुन् पार्टी छोड्ने खास नेताहरु
नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता मुकुन्द न्यौपाने, केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, पोलिटब्यूरो सदस्य यदुवंश झा, केन्द्रीय सदस्यहरु डिल्ली उप्रेती, सुभाष कर्माचार्य, हिराचन्द्र केसी, शारदा स्वर्णकार, चुडामणि जंगली, बालकृष्ण चापागाई, समिता हुसेन लगायतले पार्टी छोडेर हिडिसकेका छन् । यसमध्ये हुसेन बाहेक सबै नेता एमालेमै फर्किएका हुन् ।

एमालेले ती नेताहरुको प्रभाव विशेषका आधारमा कोहीलाई सम्वन्धित नेताकै कार्यक्षेत्र, कोहीलाइृ पार्टी केन्द्रीय कार्यालय च्यासल त केहीलाइृ अध्यक्ष केपी ओलीको निवास भक्तपुर बालकोटमा पार्टीमा स्वागत गरेको छ । एमालेमै फर्किएका एसका नेताहरु भने जिल्लाका संगठन निर्माणमा पिल्लरकै रुपमा रहेका नेताहरु फर्किएका छन् । यसले माधव नेपालको संगठनलाई भने चोट लागेको छ ।

सिन्धुपाल्चोकमा लामो समय जिल्ला हाँकेका पूर्व सांसद समेत रहेका सुभाष कर्माचार्यसँगै एकीकृत समाजवादीका जिल्ला सचिव दीपक नेपाललगायत बहुमत टिम एमालेमा फर्किसकेका छन् । कास्की जिल्ला सचिव होम नेपाली, रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगीलगायतका नेताहरू एमाले फर्किसकेका छन् ।
त्यस्तै, सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो कमिटी एमालेमा समाहित भईसकेको छ । उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए । । बडुवाल एमाले माओवादी एक भई बनेको नेकपाको सुर्खेत जिल्ला कमिटी सचिवसमेत थिए । पछि नेकपा विभाजनपछि उनी माधव नेपालको टीममा लागेका थिए । बडुवालसँगै नेकपा एसका ६५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका थिए ।

त्यसैगरी, नेकपा एसको जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा फर्किएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटी, कैलालीको धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता, सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् । सर्लाहीका जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु एमालेमै फर्किएका छन् ।

त्यस्तै, गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।

प्रतिक्रिया