शनिबार, जेठ ५, २०८१

यी विषयमा देखियो माधव नेपाल र झलनाथ खनालका बीचमा विमति

नेपालको राजनीतिक प्रतिवेदनमा खनालको ३ बुँदे असहमति, महाधिवेशनसम्म ठीक निष्कर्षमा नपुगे पार्टी नबन्ने चेतावनी

शितल शर्मा २०८० भदौ ६ गते ८:४४

काठमाडौं । नेकपा एमालेसँग दुई वर्ष अघि विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालका बीचमा वैचारिक मतभेद देखिएको छ । आगामी माघमा हुने पार्टीको महाधिवेशनसम्म पार्टीमा देखिएको बैचारिक मतभेदका विषयमा ठिक निश्कर्षमा नपुगे पार्टी नै संकटमा पर्ने चेतावनी खनालले नेपाललाई दिएका छन् ।

Advertisement

एकीकृत समाजवादीको मंगलबारदेखि जारी पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा आफनो तर्फबाट ३ बुँदे असहमति पत्र दर्ज गराएका सम्मानित नेता खनालले नेपाललाई त्यस्तो चेतावनी दिएका हुन् ।

‘मैले भनेको कुरा अध्यक्षले मान्नैपर्छ भन्ने छैन र अध्यक्षले भनेको कुरा मैले मान्नैपर्छ भन्ने छैन,’ खनालले नेपालको प्रतिवेदनमाथी मंगलबार नै धारणा राख्दै आफना ३ बुँदे असहमति समेत दर्ज गराउादै सम्मानित नेता खनालले बैठकमा भनेको भनाई उदधृत गदै एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भने, ‘ पार्टीमा देखा परेका वैचारिक मतभेदका विषयमा सार्वभौम केन्द्रीय कमिटीमा छलफल गरौं र ठीक निष्कर्षमा पुगौं । अन्यथा पार्टी बन्दैन । यसले संकटमा लान्छ ।’

नेपालले भने खनालले बैठकमा राखेको असहमतिका बारेमा केही बताएका छैनन । तर उनले आफनो प्रतिवेदन राख्नेक्रममै खनालप्रति संकेत गदैं भनेका थिए,- ‘पार्टीभित्र अहिले अनावश्यक विषयमा छलफल चलाइनु गलत हुनजान्छ ।’

नेकपा एकीकृत समाजवादीको आज र भोलि सम्म केन्द्रीय कमिटिीको बैठक चल्दैछ । आज देखि केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर टिप्पणी गर्नेछन् ।

खनाल र नेपालका बीचमा खासगरि अहिलेको प्रधानअन्तरविरोध, जनताको बहुदलीय जनबाद, समाजवादी मोर्चा र सत्ता गठबन्धनका विषयमा फरक मत देखिएको छ । यसलाई नेताहरुले सैद्दान्तिक बैचारिक मतभेदका रुपमा अथ्र्याएका छन् । अहिले माओवादी, कांग्रेस, जसपा, लोसपा, जनमतसहितको सरकारमा एकीकृत समाजवादी पनि केन्द्र सरकारमा दुई वटा मन्त्रीसहित सहभागी छ ।

त्यस्तै माओवादी, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग समाजवादी मोर्चामा आवद्ध छ । यी दुवैको निरन्तरताको प्षमा माधव नेपाल छन् । तर खनाल भने अहिलेको सत्ता गठबन्धन दक्षिणपन्थी गठबन्धन रहेको र त्यसबाट बाहिरिनुपर्ने तथा समाजवादी मोर्चालाई कार्यनीतिक मोर्चा मात्रै बनाउनु पर्ने पषमा उभिएका छन् ।

कुन विषयमा कुन नेताको के छ धारणा ?
क) प्रधान अन्तरविरोध

माधव नेपाल : तीन प्रकारका आधारभूत अन्तरविरोधमध्ये बाह्य अन्तरविरोध प्रधान रहेको अवस्था अहिले होइन । त्यसैले आन्तरिक आधारभूत अन्तरविरोध अर्थात् दलाल नोकरशाही पुँजीपति वर्ग र आम नेपाली जनताबीचको अन्तरविरोध वर्तमान नेपाली समाजको प्रधान अन्तरविरोध हो । दलाल नोकरशाही पुँजीपति वर्गको हितमा काम गर्ने प्रतिनिधि कुनै एउटा राजनीतिक दलमा मात्र नभएर विभिन्न दल र संगठनमा हुन सक्छन् । यसका अनेक गुट अनेक दलमा हुन सक्छन् । त्यसैले कुनै एउटा राजनीतिक दललाई दलाल नोकरशाही पुँजीपति वर्गको राजनीतिक प्रतिनिधि घोषणा गर्नु र उक्त राजनीतिक दलसँग आम नेपाली जनताको अन्तरविरोध वर्तमान नेपाली समाजको प्रधान राजनीतिक अन्तरविरोध हो भन्नु उपयुक्त हुँदैन ।

झलनाथ खनाल : योसँग पनि र त्योसँग पनि अन्तरविरोध छ भन्दा शक्ति छरिन्छ र त्यसले निष्कर्षमा पुर्‍याउन सक्दैन । अध्यक्षको प्रतिवेदनमा धेरै अन्तर्विरोधको विषयमा कुरा गरिएको छ तर स्पष्ट रूपमा कुनरकुन पात्र हो भनिएको छैन । यसबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी दल समूहहरूको मुख्य प्रतिद्वन्द्वी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको कांग्रेसबाहेक अरू कुनै पनि हुन सक्दैन । तर अन्य अधिकांश वामपन्थी समूहहरू ठीक यही बिन्दुमा पुगिरहेका छन् । उनीहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग गठबन्धन, कार्यगत एकता र मोर्चा बनाउँदै सत्ताको चुस्की लिइरहेका छन् । प्रधान राजनीतिक अन्तरविरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठीक ढंगले ठम्याउनुपर्छ र क्रान्तिको प्रवाहलाई निसाना केन्द्रित ढंगले अघि बढाउनुपर्छ ।

ख) जनताको बहुदलीय जनवाद

माधव नेपाल : जनताको बहुदलीय जनवादमा सामन्तवादविरुद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्यमान्यता संविधानमा संस्थागत भएका छन् । यो उपलब्धिको पक्ष हो । तर, जनताको बहुदलीय जनवाद सामन्तवाद विरोधी कार्यक्रम मात्र होइन, दलाल नोकरशाही पुँजीवादविरोधी कार्यक्रम पनि हो । यो राजनीतिक कार्यक्रम मात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रमसमेत हो । यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू व्यवहारमा लागू भइसकेका छैनन्  । जबजले राज्यसत्ताको मात्र होइन, कम्युनिस्ट आन्दोलन र पार्टीको लोकतान्त्रीकरणको मान्यता पनि राख्ने गरेको छ । प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ । यी सबै सन्दर्भमा जबजको सान्दर्भिकता छ ।

झलनाथ खनाल : संविधान बनेपछि जबजको युग सकियो । जबज भनेको नयाँ जनवाद नै हो, छुट्टै नयाँ जनवाद होइन । पुराना कुरा पनि स्मरण गर्ने हो भने नयाँ जनवाद पनि स्मरण गरौं ।

समाजवादी मोर्चा
माधव नेपाल : संयुक्त मोर्चा क्रान्तिकारी आन्दोलन सञ्चालन गर्ने एउटा महत्त्वपूर्ण संरचना हो । अहिले बनाइएको समाजवादी मोर्चा समाजवादी कार्यदिशा अंगालेका वामपन्थी पार्टीबीचको संयुक्त मोर्चा हो ।

झलनाथ खनाल : समाजवादी मोर्चा रणनीतिक हुन सक्दैन । कम्युनिस्ट नभएको घोषणा गर्ने जसपा, माओवादीमा केही उग्रवामपन्थ र दक्षिणपन्थी अवसरवाद बाँकी रहेको तथा नेत्रविक्रम चन्दमा उग्रवाद बाँकी रहेको छ । फरकफरक सोच रहेकाहरूसँग मोर्चा कतिसम्म दिगो जान सक्छ भन्नेमा शंका छ । यो रणनीति मोर्चा नभएर कार्यनीतिक मोर्चा मात्रै हुन सक्छ ।

सत्ता गठबन्धन
माधव नेपाल : यो गठबन्धन वर्तमान संसद्को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन, तात्कालिक राजनीतिक कार्यगत एकता मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने राजनीतिक गठबन्धन वा कार्यगत एकता पनि बदलिन सक्छ । अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन ।

झलनाथ खनाल : यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरूलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायनतिर लगिरहेछ । दक्षिणपन्थीहरूलाई लगातार फाइदा पुगिरहेछ । उनीहरू वामपन्थीलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेछन् । यसरी वामपन्थी समूहरू दक्षिणपन्थी शक्तिका प्यादा र बैसाखी जस्ता बनेका छन् । आफ्नो साख निरन्तर गिराइरहेका छन् । यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई जोगाउनुपर्छ । हाम्रो अनुभवहरूको समीक्षा गर्नुपर्छ, आफ्ना गल्तीलाई स्वार्थमुक्त भएर आँटका साथ सच्याउनुपर्छ र पार्टीलाई सही वैचारिक–राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया