शनिबार, जेठ ५, २०८१

को बन्ला कांग्रेसको उपनेता ?, चार नेता लबिइङमा

मेरोन्यूज २०८० साउन ३२ गते २०:११

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले आफू दलको नेतामा निर्वाचित भएको ८ महिना पुग्न लाग्दा पनि उपनेता चयन गरेका छैनन् ।

Advertisement

संसदीय दलको विधान कार्यान्वयन गरी दलको उपनेता मनोनयन गनै देउवाले खासै चासो दिएका छैनन् ।

पार्टी संसदीय दलको विधानले संसदीय दलको नेता प्रत्यक्ष निर्वाचित गर्ने र दलको नेताले उपनेता मनोनयन गर्ने व्यवस्था गरेको छ । नेतामा देउवा ६ पुसमा पार्टी महामन्त्री गगन थापालाई हराउँदै निर्वाचित भएका थिए ।

पार्टी संसदीय दलको विधानको धारा ८ ले दलको नेताले उपनेता चयन गर्ने अधिकार दिएको छ । ‘आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्न संसदीय दलको नेताले प्रतिनिधिसभाका सदस्य मध्येवाट एक उपनेता मनोनयन गर्न सक्ने छन्,’ दलको विधानमा लेखिएको छ ।

देउवा दोस्रोपटक दलको नेतामा निर्वाचित भएका हुन् । उनले पहिलो पटक नेपाल लोकतान्त्रिक फोरमलाई पार्टी एकीकरणमा ल्याएका विजयकुमार गच्छदारलाई दलको उपनेता मनोनीत गरेका थिए । ललिता निवास जग्गा प्रकरणमा सांसद पद गुमाएपछि देउवाले दलको उपनेतामा अर्को व्यक्ति चयन नगरी कार्यकाल बिताए ।

अहिले दलको उपनेता बन्न ४ नेता लागिरहेका छन् । वर्तमान गठबन्धन सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गरेर उपप्रधानमन्त्रीसहित रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह तथा डा. शशांक कोइरालाले उपनेता बन्न लागिरहेका छन् । यी चार मध्यबाट एक जनालाई उपनेता बनाउने तयारीमा रहेको देउवा निकट स्रोतले जानकारी दियो ।

पछिल्लो समय देउवालाई साथ दिए पनि सिंह र कोइराला कांग्रेसमा देउासँग निकट होइनन् । उनीहरूले १४ औं महाधिवेशनमा देउवालाई साथ दिएका थिए । महाधिवेशनमा लगाएको गुन तिर्न देउवाले आफूलाई उपनेता बनाउनु पर्ने लबिइङमा दुवै नेता छन् ।

निधि पहिला देउवाका विश्वास पात्र हुन् । १४ औँ महाधिवेशनमा उनी देउवाविरुद्ध सभापतिमा प्रतिष्पर्धा गरेपछि सम्बन्ध बिग्रिएको थियो । तर, पछिल्लो समय देउवा पत्नी आरजुमार्फत देउवासँग सम्बन्ध सुधारेका छन् । खड्का त देउवासँग लामो समयदेखि निकट छन् । तर, देउवाले उनलाई त्यति विश्वास नगर्ने निकटस्थहरू बताउँछन् ।

स्रोतका अनुसार देउवाले महाधिवेशन र दलको नेताको निर्वाचनमा धेरैलाई बनाउने आश्वासन दिएकाले एउटालाई बनाउँदा अर्को रिसाउने डरले बनाउन नसकेको निकटस्थ नेताहरू बताउँछन् ।

प्रतिक्रिया