शनिबार, जेठ ५, २०८१

पत्नी आरजुलाई कांग्रेस कोषाध्यक्ष बनाउने देउवाको तयारी

ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी, सुनिल थापा, चित्रालेखा यादव पनि लबिइङमा लागिरहेका छन्

मेरोन्यूज २०८० साउन ३१ गते १६:२०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवालाई पार्टीको कोषाध्यक्ष बनाउने तयारी गरेका छन् । आरजुलाई यसपटक कोषाध्यक्ष बनाएर अर्को महाधिवेशनमा महत्त्वपूर्ण पदमा लड्न सहज हुने गरी देउवाले अगाडि बढाउन खोजेको आफूले बुझेको कांग्रेस संस्थापनका एक नेताले जानकारी दिए ।

Advertisement

पार्टी विधानको धारा २१ को उपधारा ४ मा सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ । आरजु महिला खुल्लातर्फबाट २०७८ मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

कांग्रेसले १३औँ महाधिवशेनबाट कोषाध्यक्ष पद मनोनीत गर्ने गरी विधान परिमार्जन गरिएको हो । त्यसअघि कोषाध्यक्ष पनि निर्वाचित हुनुपर्ने व्यवस्था थियो ।

कांग्रेसको महाधिवेशन भएको डेढ वर्ष नाघिसक्दा पनि सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्न सकेका छैनन् । महाधिवेशन भएको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि देउवाले पार्टीको कोषलाई अघि बढाउने संयन्त्रलाई नै खाली राखेपछि आलोचना हुँदै आएको छ ।

उनी निकट एक पदाधिकारीले महाधिवेशनका बेलामा धेरै नेतालाई कोषाध्यक्ष बनाउने आश्वासन दिएको र अहिले सबैले त्यही पद मागेकाले देउवा अफ्टेरोमा परेको बताए । आफ्नी पत्नीलाई बनाएपछि रिसाउने धेरी नेताहरू कम हुने भन्दै नयाँ जुक्ति निकालेको हुन सक्ने पनि ती पदाधिकारीले बताए ।

देउवाले आरजुलाई बनाउने तयारी गरे पनि कोषाध्यक्ष बन्न लागि पर्ने नेताहरूको दौडधुप भने कांग्रेसमा कमी छैन ।

कोषाध्यक्षका लागि ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी, सुनिल थापा, चित्रालेखा यादव पनि लबिइङमा लागिरहेका छन् । कार्की देउवाका ससुराली तर्फका नातेदार पनि पर्छ । यादव पूर्वकोषाध्यक्ष हुन् भने चौधरी उद्योगपति हुन् । १३ औँ महाधिवेशनपछि राप्रपाबाट कांग्रेसमा प्रवेश गरेर सहमहामन्त्री बनेका थापा १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले राष्ट्रपतिको राजनीतिक सल्लाहकार पनि छन् ।

देउवालाई संस्थापन इतर र संस्थापनकै नेताहरूले केन्द्रीय समितिलाई पूर्णता दिन दबाब दिइरहेका छन् । देउवाले अब कोषाध्यक्षसहित १० केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । १६७ सदस्य केन्द्रीय समितिमा देउवाले ३३ केन्द्रीय सदस्य मनोनयन गर्न पाउँछन् । त्यसमा २३ जना मनोनित गरिसकेको छन् ।

कांग्रेसले असोज २ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ, त्यसअघि कोषाध्यक्ष र केन्द्रीय सदस्य मनोनयन गरेर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारीमा देउवा रहेको निकटस्थहरू बताउँछन् ।

कांग्रेस विधानमा कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया