शुक्रबार, जेठ ४, २०८१

कम्युनिष्ट जोगाउन प्रतिनिधिसभा विघटन गरियो : ओली

मेरोन्यूज २०८० साउन ३० गते २१:२०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताएका छन् । पार्टी स्कुल विभाग, बागमती प्रदेश सङ्गठन कमिटीले आज आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा ओलीले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने बताए ।

Advertisement

‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्‍यौँ त्यो विघटन ठीक थियो। नगरि नहुने थियो, त्यसैले गर्‍यौँ,’ उनले भने, ‘यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।’

उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताए ।

‘हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले पूरा हुन दिएनौँ,’ उनले भने । प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गरे ।

उनले प्रतिनिधिसभा विघटनपछि पार्टी मजबुतरुपमा अगाडि बढेको दाबी गरे । पार्टीबाट निकालिएको शक्ति फेरि पनि प्रतिनिधिसभा पुनःस्थापना हुँदा पहिलो शक्तिको रुपमा रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

वामपन्थी चिन्तनलाई प्रतिक्रियावादीले सुन्न नचाहने गरेको उल्लेख गर्दै उनले यथास्थितिवाद र वामपन्थको कहिले मिलाप नहुने उल्लेख गरे । ‘वामपन्थले देशमा सुधार र परिवर्तन चाहने गर्दछ । चाहे त्यो सङ्ख्यात्मक होस् वा गुणात्मक । परिस्थिति अनुकूल छ भने गुणात्मक परिवर्तन ल्याउने काम वामपन्थले गर्दछ,’ ओलीले भने ।

अध्यक्ष ओलीले अहिले पुँजीवादीसँग पैसा भएकाले कम्युनिष्ट आन्दोलन दबाउन खोजिएको बताए । ‘अहिले पद, पैसा, सुविधा र क्रयशक्ति पुँजीवादीसँग रहेको छ । त्यस कारणले क्रयशक्तिको कारणले पुँजीवादी घुसपैठ पनि गर्न सक्दछन्,’ उनले भने, ‘हाम्रोजस्तो देशमा अहिले पनि परम्परागत शक्ति दबाउने चलन रहेको छ । उनीहरुको वर्चश्व रहेको छ ।’

प्रतिक्रिया