शुक्रबार, जेठ ४, २०८१

आफ्नै परस्परविरोधी अभिव्यक्तिले सुन तस्करी प्रकरणमा फस्दै पूर्वसभामुख महरा

मेरोन्यूज २०८० साउन ३० गते २०:३३

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नै परस्परविरोधी अभिव्यक्तिका कारण इलेक्टोनिक सिगरेटमा सुन लुकाएर ल्याएको प्रकरणमा फस्ने देखिएको छ ।

Advertisement

पूर्वसभामुख महराले मंगलबार दारूको घोराहीमा गरेको पत्रकार सम्मेलनमा सो पक्ररणमा दिएको अभिव्यक्ति र केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस् परस्परविरोधी देखिन्छ ।

इलेक्टोनिक सिगरेट (भेप)मा लुकाएर सुन तस्करी प्रकरणमा आरोपित चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग महरा र उनका छोरा राहुलसँग पटक पटक संवाद भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवेदन दिएर त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा अभियोजन गरिसकेको छ । सिआईबीले प्रतिवेदनमा महरा र उनका छोरा राहुलको मोबाइल नम्बरसहित पटक–पटक चिनियाँ ब्यापारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीलाई टेलिफोन गरेर त्यो भेपबारे सोधपुज गरेका उल्लेख गरेको छ ।

मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी उनले त्यसबारेमा चासो राखेको पनि बताए । आफूलाई भन्सारमा रोकिएको सामान सुन भएको थाहा नभएको पनि प्रष्टीकरण दिए ।

महराले वाङसँग १०।१२ वर्षदेखि चिनजान रहेको उल्लेख गरे । महराले उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताए । ‘उनी फलफूल ब्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूल । उनको एकजना साथीले त्यो सुन । सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्‍यो भने,’ महराले भने, ‘मैले केही इलिगल सामान होला भनेँ । इलिगल होइन, लिगल हो भने । के प्रोब्लम हो, त्यसकारण मैले भन्सारका साथीहरुसँग कुरा गरेर लिगल सामान हो भने समस्या के पर्‍यो, कानुन अनुसार काम गर्नुहोला अथवा के गर्नुपर्छ रोक्नुपरे रोक्नु, छोड्नुपरे छोड्नु, लिलाम गर्नुपरे लिलाम गर्नु, जे गर्नुपर्ने कानुन अनुसार गर्नु भने, यत्ति हो भएको ।’

तर महराले फेसबुक स्टाटस्मा आफूले सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको र आफूले फोन गरेको र आफ्नो नाम र उल्लेख गरिएको फोन नम्वर आफ्नो नभएको र प्रयोग नगरेको बताएका थिए । उनले फेसबुक स्टाटस्मा लेखेका छन्, ‘केहि दिन यता संचारमाध्यम बाट सुन प्रकरण मा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । जहा सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु ।’

यस्तो थियो महराको फेसबुक स्टाटस्

महराले आज व्यक्त गरेको धारणा र उनको फेसबुक स्टाटस्मा लेखेको कुरा परस्परविरोधी देखिन्छ । फरक–फरक अभिव्यक्ति दिँदा कतै संलग्नता भएर त आत्तिएका होइनन् भन्ने पनि दखाउँछ ।

भेपमा राखेर सुन तस्करी प्रकरणको अनुसन्धानपछि सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महरा र उनका छोरा राहुलको नाम उल्लेख गरेको छ । तर, प्रतिवादी बनाइएको छैन ।

प्रहरीले महरा र उनको छोराको नाम उल्लेख गर्दा पनि सरकारले उनीहरुमाथि अनुसन्धान गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया